नेपाल धितोपत्र बोर्डको अध्यक्षमा तीन जनाको नाम सिफारिस गर्ने निर्णय, भोलि नै नयाँ अध्यक्ष आउने
काठमाडौं । नेपाल धितोपत्र बोर्डमा अध्यक्ष सिफारिस गर्न गठित समितिले आज लिएको कार्ययोजना प्रस्तुतिकरणपछि तीन जनाको नाम सर्टलिष्टमा छनौट गरेर नेपाल सरकारलाई बुझाएको छ ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीको संयोजकत्वमा गठित समितिले आज तीन जनाको नाम अर्थमन्त्रालयमा बुझाएको हो ।
छनौट समितिले बोर्डका वर्तमान कार्यकारी निर्देशक डा. नबराज अधिकारी, अर्का कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ र बुटवलका सन्तोष नारायण श्रेष्ठलाई सर्टलिष्टमा राखेर सिफारिस गर्ने निर्णय गरेको छ । आजको परिक्षाबाट नेप्सेका सिईओ कृष्ण बहादुर कार्की फ्याकिएका छन् । वर्षमान पुन अर्थमन्त्री भइरहेको भए कार्की समेत एक सम्भावित उम्मदेवार हुन् ।
कार्की र डा. अधिकारी दुई जना सँग आइतबार लिइएको प्रस्तुतिकरण र गत भदौंको अन्तिम साता प्रस्तुतिकरण दिएका सन्तोषनारायण श्रेष्ठ तथा मुक्ति श्रेष्ठलाई समावेश गरी नयाँ पुरानै प्रक्रियालाई अघि बढाएर तीन जनाको नाम सर्टलिष्टमा निकालिएको हो ।
सम्भवतः भोलि सोमबार बस्ने मन्त्रिपरिषदको बैठकबाट उनीहरु तीन जना मध्ये एक जनालाई नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा नियुक्त हुनेछन् । विश्वस्त स्रोतका अनुसार सो सम्बन्धमा मन्त्रिपरिषदको भोलिको बैठकमा सेटिङ अनुसार नै निर्णय हुनेछ । जसमा सेटिङ अनुसारकै व्यक्ति अध्यक्ष बन्नेछन्
नेपाल धितोपत्र बोर्ड २०८० पुस २० पछि कार्यकारी अध्यक्ष नेतृत्व विहीन छ । सरकारले अर्थमन्त्रालउयका सह सचिवलाई काम चलाउको लागि बोर्डको अध्यक्षको कामकाज गर्न दिएपनि धेरै कामहरु र नीतिगत निर्णयहरु बोर्डका अल्झिएका छन् ।
नाम सिफारिस हुन नसकेपछि सरकारले नयाँ प्रक्रिया सुरु गर्न समितिका तिनै सदस्य रहनेगरी अर्को सिफारिस समिति बनाएको थियो ।