सुधारिएन पुँजी बजारः खुम्चियो परिसूचक, मौद्रिक नीतिले हेर्ला त लगानीकर्ताको निराशा ?
काठमाडौँ । शेयर बजार आज पनि ओरालो लागेको छ । लगानीकर्ताको मनोबल कमजोर हुँदा बजार घट्न पुगेको हो ।
पछिल्लो समय बजारमा आएको गिरावटको प्रमुख कारण मौद्रिक नीतिको समीक्षाप्रति लगानीकर्ताको उच्च आशा हो । केन्द्रीय बैंकले केही साता भित्र मौद्रिक नीतिको पहिलो समीक्षाको तयारी गरिरहेको छ। सेयर धितो कर्जामा अहिले पनि जोखिमभार बढी छ, जसले लगानीकर्ताहरुको लगानी क्षमतामा प्रभाव पारेको छ ।
विशेषज्ञहरुका अनुसार, जोखिमभार घटाउने निर्णय भयो भने सेयर बजारले सकारात्मक गति लिन सक्नेछ। यसले लगानीकर्ताको मनोबललाई बलियो बनाउन मद्दत गर्नेछ । नियामक निकायसबै सकारात्मक रहेको बेला बाधा गर्ने नीति सुधार हुने आश लगानीकर्तामा रहेको छ ।
पछिल्लो समय नेपाली अर्थतन्त्रका विभिन्न सूचकहरुले सुधारको सङ्केत दिएका छन्। अर्थतन्त्रको बाह्य क्षेत्र बलियो अवस्थामा छ, बैंकिङ प्रणालीमा पर्याप्त तरलता छ, र ब्याजदर पनि घटिरहेको छ । सेयर कर्जाको ब्याजदर एकल अंकमा झरेकाले लगानीकर्ताका लागि सकारात्मक वातावरण सिर्जना गरेको छ । अब लगानीकर्ताको नजर भनेको नै मौद्रिक नीति रहेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.०३ अकंले घटेर २६६७.४० बिन्दुमा कायम भएको छ । आज ३२२ कम्पनीको १ करोड ५२ लाख ७० हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ७२ करोड ८८ लाख रुपैयाँको कारोबार भएको हो ।
यसदिन ११ उपसूचक नै राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.५४ प्रतिशत, विकास बैंक समूहको १.६३ प्रतिशत, फाइनान्स समूहको ०.३७ प्रतिशत, होटल तथा पर्यटन समूहो ०.४९ प्रतिशतले शेयर मूल्य घटेको छ ।
आइतबार ५५ कम्पनीको शेयर मूल्य बढ्दा १८१ कम्पनीको घट्न पुगेको छ ।