मनकामना केबुलकार २७ औं वर्षमा प्रवेश
काठमाडौं । नेपालकै पहिलो केबुलकार सेवा मनकामना केबुलकार २७ औं वर्षमा प्रवेश गरेको छ। २६ वर्षदेखि यात्रुहरुलाई सेवा दिँदै आएको यो केबुलकारले आगामी दिनमा अझ स्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धता जनाएको छ।
मनकामना केबुलकारका स्रष्टा लक्ष्मण बाबु श्रेष्ठलाई सम्झिँदै कम्पनीले उनको योगदानलाई स्मरण गरेको छ। केबुलकार सञ्चालनपछि प्रसिद्ध तीर्थस्थल मनकामना र वरपरका क्षेत्र देश तथा विदेशका लागि एक प्रमुख गन्तव्यका रूपमा स्थापित भइसकेको छ।
कम्पनीले एनालग प्रविधिको मर्मत सम्भार गर्दै हालकै नवीनतम् डिजिटल प्रणालीमा स्तरोन्नति गरेको छ। साथै केबुलकार हाताभित्र सुविधा सम्पन्न रिसोर्ट निर्माणको अन्तिम चरणमा पुगेको जानकारी दिएको छ। उक्त रिसोर्टमा स्वीमिङ्ग पुल, हेल्थ क्लब, सभा सेमिनार हल र रेष्टुरेन्टको सुविधा हुनेछ।
शुरूवाती वर्षमा १० लाख यात्रुलाई सेवा दिएको केबुलकारले हाल वार्षिक १२ लाखभन्दा बढी यात्रुलाई सेवा दिइरहेको छ। यो वर्ष १३ लाख ५० हजार यात्रुलाई सेवा दिने लक्ष्य राखिएको केवलकारले जनाएको छ।
मनकामना केबुलकारले सामाजिक उत्तरदायित्व अन्तर्गत मनकामना क्षेत्र वरपरका स्थानमा शिक्षा, स्वास्थ्य, विकास र विपन्न वर्गलाई सहयोग गर्दै आएको छ। साथै केबुलकार टिकट आम्दानीको २ प्रतिशत शहिद लखन गाउँपालिका र इच्छाकामना गाउँपालिकालाई सामाजिक विकासका लागि उपलब्ध गराउँदै आएको छ।
कम्पनीले यात्रुहरू, स्थानीय निकाय, प्रहरी प्रशासन, कर्मचारी र पत्रकार लगायत अन्य शुभ चिन्तकप्रति धन्यवाद प्रकट गर्दै आफ्नो यात्रालाई अझ प्रभावकारी बनाउने लक्ष्यसहित २७ औं वर्षमा प्रवेश गरेको छ।