धितोपत्र बोर्ड अध्यक्षका लागि अन्तर्वार्ता जारी, को–को भए उपस्थित?
काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि अन्तर्वार्ता भइरहेको छ। आइतबार सिंहदरबारमा उम्मेदवारहरूको अन्तर्वार्ता र कार्ययोजना प्रस्तुति कार्यक्रम कार्यक्रम भइरहेको हो।
अन्तर्वार्तामा बोर्डका निवर्तमान कार्यकारी निर्देशक नवराज अधिकारी र नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की प्रस्तुतिका लागि उपस्थित भएका छन्। तर बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जिवी चापागाईं भने अन्तर्वातामा आइनसकेको जानकारी प्राप्त भएको छ।
यसअघि सर्टलिस्टमा परेका पाँचमध्ये दुई उम्मेदवार सन्तोषनारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठले आफ्नो अन्तर्वार्ता र कार्ययोजना प्रस्तुत गरिसकेका थिए। अन्तर्वार्ता तथा कार्यायोजना प्रस्तुत गरेका चार जनामध्ये प्रस्तुति मूल्यांकन गरी समितिले उत्कृष्टताका आधारमा कम्तीमा तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्नेछ। तीमध्ये एक जनालाई मन्त्रिपरिषदले अध्यक्षमा नियुक्त गर्नेछ।
धितोपत्र बोर्डको अध्यक्ष पद २०८० पुस २० देखि रिक्त छ। यसअघि अन्तर्वार्ता प्रक्रियामा ढिलाइ भएको कारण नयाँ प्रक्रिया शुरू गर्न प्रस्ताव गरिएको भए तापनि कानूनी अड्चनका कारण पुरानै प्रक्रियालाई अघि बढाइएको थियो।