कोरियामा रहेका हजारौं नेपालीहरु शेयर किनबेचमा सक्रिय, मोबाइलबाटै दैनिक करोडौंको कारोबार

८ मंसिर २०८१, शनिबार २०:५६

सोल-दक्षिण कोरिया । कोरियामा रहेका हजारौं नेपालीहरुले नेपालको पुँजि बजारमा अर्बौ रुपैयाँ लगानी गरेको पाइएको छ । कुनै औपचारिक तथ्याङ्क नभए पनि हजारौं नेपालीहरुले दैनिक करोडौं रुपैयाँको शेयर किनबेच गर्ने गरेका छन् । अनलाईन प्लेटफर्म मोबाइल एपबाटै कोरियामा रहेका कामदार तथा बिजनेस भिषामा रहेका नेपालीहरुले नेप्सेमा शेयर कारोबार गर्ने गरेका छन् ।

 

कैलालीबाट इपिएस परिक्षा पास गरी चार वर्ष अघि दक्षिण कोरिया आईपुगेका सुमन रावलले बीमापोष्टसँग भने, ‘रातदिन दुःख गरेर कमाएको पैसा घरमा पठाउँदा पनि त्यतिकै सकिन्छ, त्यसैले आफैले शेयर बजारमा केही हुन्छ कि भनेर लगानी गरेको छु ।’ अधिकांश कामदारहरु शेयर बजारमा लगानी गरेपनि बजारबारे बुझेर भन्दा पनि जुवाको शैलीमा लगानी गरिरहेका छन् । नेप्सेका अनुसार लगानीकर्ताहरुले शेयर खरिद गर्दा आफुले खरिद गर्ने कम्पनीको वित्तीय अवस्था राम्ररी बुझेर मात्रै शेयर किन्न आग्रह गर्दछ । कोरियामा रहेका नेपालीहरुले नेप्सेको भनाईबारे खासै चासो राख्दैनन्, र साथीभाइको सल्लाह गरेर कुन कम्पनी किन्ने भनेर जुवाको शैलीमा शेयरमा लगानी गरिरहेका छन् ।

उदयपुरका भिमनन्द कार्कीले यस अवधीमा आफुले धेरै शेयर बजारमा धेरै रकम डुबाएकोमा पछुतो मानेका छन् । उनले भने, ‘साथीभाइसँग सल्लाह गरेर किनेको, केही समयअघि शेयरमुल्य निकै बढेको थियो । त्यहिबेलामा पैसा पनि आएकोले शेयर शेयर किनिहाले अहिले घटेर सावाँ पनि उपर भएको छैन ।’

 

दैनिक १२ घण्टासम्म काम गरेर मेहनत गरेका थुर्पै नेपाली युवाहरुले शेयर बजारमा रकम डुबाएका छन् । सो मध्ये केहीले भने कमाएको समेत बताए । शेयरको भाउ बढ्नु अघि नै किनेकाहरुले शेयर मुल्य उच्च भएको समयमा बिक्री पाँचथरका अभिलाष लिम्बुले बताए ।

तस्विरः नबराज न्यौपाने

नेपालस्थित इपिएस शाखाका अनुसार कोरियामा करिब ५० हजार नेपाली कामदार कोरियामा सक्रिय रहेका छन् । गत अगस्टसम्मको तथ्याङ्क अनुसार एक लाख पाँच हजार ५४४ जना नेपाली कामदारहरु कोरिया पुगिसकेका छन् । सो मध्ये थुप्रै कामदार आफ्नो अवधी पुरा गरेर फर्किसकेका पनि छन् । कुल ९८ हजार ३१० जना पुरुष कामदार र सात हजार २४३ जना महिला कामदार दक्षिण कोरिया पुगेका छन् ।
कोरियामा आकर्षक तलव कमाइरहेका नेपाली कामदार युवाहरुले आईपिओ तथा सेकेण्डरी दुवै खालको शेयरमा लगानी गरेका छन् । सरकार बैदेशिक रोजगारीमा रहेकाहरुलाई आईपिओ निष्काशनमा १० प्रतिशत आरक्षणको व्यवस्था गरेको छ । त्यस्तै, दोस्रो बजारमा समेत सक्रियतापुर्वक लगानी गरिहेका छन् ।

 

मेरो शेयर मोबाइल एपमार्फत आईपिओ खरिद गर्न सकिन्छ भने ब्रोकर कम्पनीको टिएमएस सिष्टम लिएपछि शेयर खरिद बिक्री समेत गर्न सकिन्छ । मोबाइलबाटै शेयर खरिद गर्न सकिने भएकोले आफुहरुले मेहनतको कमाई स्वदेशी पुँजिबजारमा लगानी गर्ने गरेको लगानीकर्ता युवाहरुको भनाई छ ।

 

शेयर बजारमा हुने चलखेलबारे सोझा युवाहरुलाई थाहा नहुने र माफियाले तलमाथि पारेर डुबाउन सक्नेतर्फ नियामकले ध्यान दिनुपर्ने उनीहरुको सुझाव छ । कुनै समय ह्वात्तै बृद्धि हुने र कुनै समय ह्वात्तै घट्दा कोरियामा रहेका लगानीकर्ताहरुलाई अन्योलता सिर्जना गर्ने गरेको शेयर करोबार सहभागी युवाहरुको गुनासो छ । उदयपुरका कार्कीले भने, ‘शेयर किन्दा ठीकै थियो के कारणले त्यतिधेरै घटेर एकै रातमा अवस्था अर्कै भयो थाहै भएन । त्यसपछि शेयर बजार जुवा जस्तो लाग्न थालेको छ ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*