गरिमा विकास बैंकको १७ वर्षको यात्राः राष्ट्रियस्तरको वित्तीय सेवामा नेतृत्वदायी भूमिका

७ मंसिर २०८१, शुक्रबार १४:२१

काठमाडौँ ।  गरिमा विकास बैंकले १७ वर्ष पूरा गरी १८औं वर्षमा प्रवेश गरेको छ। नेपालमा वित्तीय सेवाको पहुँच विस्तार गर्ने लक्ष्यका साथ २०६४ साउन २२ गते शिक्षण, इन्जिनियरिङ, चिकित्सा, बैंकिङ लगायत विभिन्न पेशा–व्यवसायमा संलग्न प्रतिष्ठित व्यक्तिहरूको सहभागितामा यो बैंकको स्थापना भएको हो। बैंकले २०६४ असोज २४ गते नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न अनुमतिपत्र प्राप्त गरेपछि वालिङ नगरपालिका-३, स्याङ्जाबाट २०६४ कात्तिक १८ गते आफ्नो सेवा सुरु गरेको थियो।

स्थापना समयमा क्षेत्रीय स्तरको विकास बैंकका रूपमा कार्यरत यस बैंकले सुरुमा स्याङ्जा, पाल्पा र कास्कीका सीमित क्षेत्रमा मात्र वित्तीय सेवा पुर्‍याउँदै आएको थियो। २०६८ चैत २० मा आफ्नो कारोबारको दायरा १० जिल्लासम्म विस्तार गरेपछि बैंकको संरचना र सेवा सञ्जाल द्रुत गतिमा विकसित हुँदै गयो।

बैंकले विभिन्न मर्जर र अधिग्रहण प्रक्रियाबाट आफूलाई राष्ट्रियस्तरको विकास बैंकमा रूपान्तरण गरेको छ। २०७२ असार २९ मा निलगिरी विकास बैंक र शुभेच्छा विकास बैंकसँग मर्जर गरेपछि बैंकले आफ्नो पूँजी आधार बलियो बनाउँदै शाखा स्थान विस्तार र सेवा सुधारमा फड्को मारेको हो।

२०७३ असोज ४ मा शुभेच्छा विकास बैंकसँगको मर्जर र पछिल्लो पटक २०७८ कात्तिक २८ मा सहारा विकास बैंकको अधिग्रहणमार्फत बैंकले प्रदेश २ मा आफ्नो उपस्थिति थप सुदृढ गरेको छ। यी मर्जरहरूले बैंकलाई थप सक्षम बनाउँदै वित्तीय क्षेत्रमा आफ्नो उपस्थिति मजबुत बनाउन महत्वपूर्ण भूमिका खेलेका छन्।

बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायले भने, “गरिमा विकास बैंकले राष्ट्रियस्तरको बैंकका रूपमा आफ्नो पहिचानलाई थप सुदृढ गर्दै देशका सबै वर्ग र समुदायलाई समेट्न प्रयासरत छ।”

सेवा विस्तार र प्रविधिको अधिकतम उपयोग

हाल गरिमा विकास बैंकले देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर, र ५१ एटीएममार्फत वित्तीय सेवा पुर्‍याइरहेको छ। ग्रामीण तथा शहरी क्षेत्रमा समान सेवा प्रवाहको लक्ष्यका साथ बैंकले आफ्नो उपस्थिति विस्तार गरेको छ।

गरिमा विकास बैंकले ग्राहकको आवश्यकता अनुसार आधुनिक प्रविधिको अधिकतम उपयोग गर्दै विभिन्न नवीनतम वित्तीय उत्पादन र सेवा सञ्चालन गरेको छ। बैंकले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, र कार्ड सेवा जस्ता सुविधाहरूलाई प्रभावकारी ढंगले उपलब्ध गराएको छ। यसले बैंकलाई ग्राहकहरूको विश्वास जित्न सफल बनाएको छ।

बैंकले “सर्वसुलभ पहुँच” नारालाई आत्मसात गर्दै देशभरका ग्रामीण तथा दुर्गम स्थानसम्म वित्तीय सेवा पुर्‍याउने प्रयास गरिरहेको छ। लाजिम्पाट, काठमाडौंमा रहेको मुख्य कार्यालयबाट बैंकले सम्पूर्ण शाखाहरूको समन्वय गरी सहज सेवा प्रवाह गर्ने गरेको छ।

वित्तीय स्थायित्व र भविष्यका योजना

गरिमा विकास बैंकको सुरुवाती चुक्ता पूँजी मात्र २६.५ मिलियन रूपैयाँ रहेकोमा हाल यो ८ अर्ब रुपैयाँ नाघिसकेको छ। बैंकले आफ्नो वित्तीय सूचकांकहरूलाई निरन्तर सुधार गर्दै आएको छ।

बैंकले उत्कृष्ट वित्तीय प्रशासन, पारदर्शिता, र सुशासनका मापदण्डलाई पालन गर्दै आफ्नो सेवामा गुणस्तर वृद्धि गरेको छ। प्रमुख कार्यकारी अधिकृत उपाध्यायले भने, “हामी सबै ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै उनीहरूको पहिलो रोजाइको बैंक बन्न चाहन्छौं।”

भविष्यका योजनामा वित्तीय सेवा अझ सरल र सुलभ बनाउँदै नयाँ-नयाँ प्रविधि अपनाउने र ग्रामीण क्षेत्रमा थप शाखा विस्तार गर्ने प्राथमिकतामा राखिएको छ।

योगदान र प्रतिबद्धता

गरिमा विकास बैंकले राष्ट्रिय अर्थतन्त्रको विकासमा उल्लेखनीय योगदान पु¥याउँदै आएको छ। बैंकले साना तथा मझौला व्यवसायलाई वित्तीय सेवा पुर्‍याउन, रोजगारी सिर्जना गर्न, र स्थानीय स्तरमा आर्थिक गतिविधि बढाउन महत्वपूर्ण भूमिका खेलेको छ।

ग्रामीण क्षेत्रमा वित्तीय साक्षरता अभिवृद्धि गर्न बैंकले विभिन्न कार्यक्रम सञ्चालन गरेको छ। यसले नाफा मात्र नभएर सामाजिक उत्तरदायित्वलाई पनि समान रूपमा प्राथमिकता दिएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृतले भने, “हामीले विगत १७ वर्षमा थुप्रै चुनौती सामना गर्दै सफलता हासिल गरेका छौं। आगामी दिनमा पनि देशका विभिन्न वर्ग र समुदायका लागि थप उपयोगी र सुलभ सेवा प्रदान गर्न प्रतिबद्ध छौं।”

समृद्ध भविष्यतर्फको यात्रा

गरिमा विकास बैंकले आफ्नो स्थापनाको १८औं वर्ष प्रवेशको अवसरमा “सर्वसुलभ पहुँच” नारालाई पुनः दोहो-याउँदै वित्तीय क्षेत्रमा नयाँ उचाइ हासिल गर्ने लक्ष्य लिएको छ। विविध पहिचान र अनुभवसहितको नेतृत्वद्वारा सञ्चालित बैंकले ग्राहकहरूको विश्वास जित्दै देशभर उत्कृष्ट सेवा प्रदान गर्न सफल भएको छ।

बैंकले आगामी दिनमा ग्राहकको सन्तुष्टि, सेयरधनीको हित, र कर्मचारीको समृद्धिका लागि थप ठोस कदम चाल्ने बताएको छ। यो प्रतिबद्धता र स्पष्ट रणनीतिले गरिमा विकास बैंकलाई नेपाली बैंकिङ क्षेत्रमा एक अग्रणी संस्थाका रूपमा चिनाउन मद्दत पुर्‍याउनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*