मंसिर १६ गतेदेखि हकप्रद निष्कासन गर्दै लिवर्टी ईनर्जी
काठमाडौं । लिवर्टी ईनर्जी कम्पनी लिमिटेडले आउँदो मंसिर १६ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ।
कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ५० करोड रुपैयाँको १ः०.५० को अनुपातमा ७५ करोड रुपैयाँ बराबरको हकप्रद शेयर जारी गर्न लागेको हो। कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका दरले ७५ लाख कित्ता शेयर निष्कासन गर्ने बताएको छ।
हकप्रद शेयर निष्कासनका लागि कम्पनीले कात्तिक २१ गते बुक क्लोज गरिसकेको छ। यसर्थ कात्तिक २० गतेसम्म कायम शेयरधनीले मात्रै यो हकप्रद शेयरमा आवेदन दिन पाउँछन्।
इच्छुक तथा योग्य लगानीकर्ताले बिक्री प्रबन्धक प्रभु क्यापिटल, लिवर्टी इनर्जी र नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सकिनेछ।
आवेदन दिने अन्तिम मिति पुस ७ गते तोकिएको छ।
इक्रा नेपालले कम्पनीलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले आइआरएन डबल बी प्रदान गरेको छ । यसले कम्पनीको समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता मध्यम जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीले हकप्रद बिक्रीबाट प्राप्त रकम माथिल्लो दोर्दी ए जलविद्युत आयोजनाको ऋण भुक्तानीका लागि ५५ करोड रुपैयाँ, आयोजना निर्माणका लागि भएको खर्चको बाँकी रकम भुक्तानीका लागि १५ करोड ३२ लाख र लोदोखोला साना जलविद्युत आयोजनामा ४ करा्ेड २४ लाख रुपैयाँ लगानी गर्न प्रयोग गरिने बताएको छ।