लयमा फर्किदै हाइड्रोः ३ अर्ब ८१ करोड नाफा आर्जन, २० कम्पनी ऋणात्मक हुँदा अन्यको वित्तीय चित्र कस्तो ?

इपीएसमा को कति अब्बल ?
४ मंसिर २०८१, मंगलवार १६:५५

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणले हाइड्रोपावर कम्पनीहरूको समग्र वित्तीय प्रदर्शनमा सकारात्मक प्रगति देखाएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत ९१ वटा जलविद्युत कम्पनीहरूले यस अवधिमा ३ अर्ब ८१ करोड ८३ लाख रुपैयाँ नाफा कमाएका छन्, जुन गत वर्षको तुलनामा ३५.०४ प्रतिशत बढी हो ।

गत आवको सोही त्रैमासमा यी कम्पनीहरूले २ अर्ब ८२ करोड ७६ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए । विद्युत उत्पादन र बिक्री आम्दानीको वृद्धिले यो नाफा वृद्धि सम्भव भएको हो ।

यस अवधिमा ३३ कम्पनीहरूले नाफामा सुधार गर्न सफल भएका छन् । अपर तामाकोशी हाइड्रोपावरको नाफा सबैभन्दा बढी रहेको छ । चालु आर्थिक वर्षको तीन महिनामा कम्पनीको नाफा ६३ करोड १९ लाख ८४ हजार रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको तुलनामा २.९८ प्रतिशतले बढी हो ।

यसअवधिमा भुगोल इनर्जीले ७३१.९० प्रतिशतले नाफा बढाएको छ भने अरुण भ्यालीको नाफा ७२०.५३ प्रतिशतले वृद्धि भएको छ । यस्तै, हिमालयन ऊर्जा विकास, स्वेत गंगा, मकर जितुमाया सुरी, सिंगटी, र दोल्ती पावर लगायतका कम्पनीहरूले पनि उल्लेख्य नाफा वृद्धि गरेका छन् ।

तर, समीक्षा अवधिमा १९ कम्पनीहरूको नाफा घटेको छ । भिजन लुम्बिनी, थ्रिस्टार, पञ्चकन्या माइ, सामलिङ, र पिपुल्स हाइड्रोपावर जस्ता कम्पनीहरूको नाफा घट्न पुगेको छ ।

गत आवमा घाटामा रहेका १९ वटा जलविद्युत कम्पनीहरूले यस त्रैमासमा नाफा कमाउन सफल भएका छन् । अपि पावर, सानिमा मिडल तमोर, हिमालयन पावर, अरुण कावेली, रिदि हाइड्रोपावर, अपर हेवा खोला, माया खोला, र एशियन हाइड्रोपावर जस्ता कम्पनीहरू नोक्सानीबाट धनात्मक स्थितिमा आएका छन् ।

अघिल्लो वर्ष नाफामा रहेका चार कम्पनीहरूले यस त्रैमासमा घाटा व्यहोरेका छन् । यीमध्ये २० कम्पनीहरू अझै नोक्सानीमै रहेका छन् ।

जलविद्युत क्षेत्रको यो सुधारले समग्र ऊर्जा उत्पादनमा लगानीको प्रभावकारिता झल्काएको छ । तर, अझै पनि घाटामा रहेका कम्पनीहरूको वित्तीय स्थायित्वलाई बलियो बनाउन विशेष रणनीति आवश्यक देखिन्छ ।

प्रतिशेयर आम्दानी

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा २० हाइड्रोपावरको प्रतिशेयर आम्दानी १० रुपैयाँ भन्दामाथि रहेको छ । अन्य ५० कम्पनीहरुको प्रतिशेयर आम्दानी १० रुपैयाँ भन्दा तल रहेको हो ।

तेह्रथुम पावरको प्रतिशेयर आम्दानी ४६.०३ रुपैयाँ रहेको छ भने साहस उर्जाको ४५.७४ रुपैयाँ रहेको छ ।

तीन महिनाको अवधिमा २० हाइड्रोपावरको प्रतिशेयर आम्दानी ऋणात्मक रहेको छ ।

हाइड्रो तस्बिरः एआई

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*