यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती (पूर्णपाठ)
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबार चालु आर्थिक वर्षको असोज मसान्तसम्मको देशको वर्तमान वित्तीय अवस्थाको विवरण सार्वजनिक गरेको छ । जसमा रेमिट्यान्स, शोधनान्तर स्थिति, विदेशी मुद्रा सञ्चिती लगायतका सूचकहरुमा बृद्धि देखिएको छ ।
यस अवधिमा नेपालमा भित्रने रेमिट्यान्स ११.५ प्रतिशतले बढेर चार खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २५.८ प्रतिशतले बढेको थियो ।
त्यस्तै, चालु आर्थिक वर्षको तीन महिनामा चालु खाता एक खर्ब ११ अर्ब ८७ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५९ अर्ब ६५ करोड रुपैयाँले बचतमा रहेको थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४४ करोड ९४ लाखले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ८३ करोड ४० लाखले बचतमा रहेको छ ।
यस अवधिमा खुद पुँजीगत ट्रान्सफर २ अर्ब रुपैयाँ कायम भएको छ भने प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह (ईक्विटि मात्र) ४ अर्ब ८१ करोड रुपैयाँ रहेको छ । त्यस्तै, समीक्षा अवधिमा शोधनान्तर स्थिति १ खर्ब ८४ अर्ब ९९ करोड रुपैयाँले बचतमा रहेको छ ।
नेपालमा विदेशी विनिमय सञ्चिति २२ खर्ब ३२ अर्ब २८ करोड रुपैयाँ पुगेको छ ।