त्रिभुवन विश्वविद्यालयको लापरबाहीः स्नातकको नतिजा नआउँदै खुलायो स्नातकोत्तरको भर्ना
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्नातक तहको अन्तिम वर्षको नतिजा सार्वजनिक नगरिकनै स्नातकोत्तर तहको भर्ना खुलाएको छ । जेठ र असार महिनामा सञ्चालन भएको परीक्षाको नतिजा आउन बाँकी छँदै त्रिविले मानविकी तथा सामाजिक शास्त्र, व्यवस्थापन, शिक्षाशास्त्र, र विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गतका क्याम्पसहरूमा भर्नाका लागि आवेदन खुलाएको हो ।
स्नातकोत्तर तहको भर्ना आवेदन मंसिर ५ गतेदेखि सुरु भई पुस ५ सम्म खुला रहने सूचनामा उल्लेख छ । तर, स्नातक तहको चार वर्षे बीए र व्यवस्थापन संकायको बिबिएस चौथो वर्षको नतिजा नआएको अवस्थामा विद्यार्थीहरू भर्ना प्रक्रियामा सहभागी हुन समस्यामा पर्ने देखिएको छ ।
नतिजा सार्वजनिक भएपछि ट्रान्सक्रिप्ट निकाल्न र स्नातकोत्तर तहमा भर्ना प्रक्रिया पूरा गर्न समय अपुग हुने अवस्था रहेको विद्यार्थीहरूको गुनासो छ । त्रिविको यस निर्णयले विद्यार्थीहरू अन्योलमा परेका छन् भने लापरबाहीको आलोचना भइरहेको छ ।
त्रिवि प्रशासनले भने समयमा नतिजा निकाल्नुपर्ने चुनौतीका कारण भर्ना प्रक्रिया अगाडि बढाइएको दाबी गरेको छ । तर, विद्यार्थीले समयमै नतिजा सार्वजनिक नगरी भर्ना प्रक्रिया अघि बढाउनु गैरजिम्मेवार कदम भएको प्रतिक्रिया दिएका छन्।