लाभांश पारित गर्न स्ट्याण्डर्ड चार्टर्ड बैंकले बोलायो साधारणसभा, पर्सि बुक क्लोज
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले ३८औं वार्षिक साधारणसभा मंसिर २५ गते मंगलबार गर्ने भएको छ। बैंकको मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकले भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान साढे ९ बजे सभा बस्ने निर्णय गरेको हो।
सभामा हाल कायम चुक्ता पूँजीको ६.५० प्रतिशत अर्थात् प्रति १०० शेयरमा ६.५ शेयरका दरले बोनस शेयर र १९ प्रतिशत अर्थात् प्रति शेयर १९ रुपैयाँ नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पेश गरिनेछ।
बैंकको अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गर्न र आवश्यक परेको खण्डमा प्रबन्धपत्र तथा नियमावलीको संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि सभामा पेश हुनेछ।
यसका साथै गत आर्थिक वर्षको वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने र चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाका लागि तय गरिएको छ।
सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर ६ गते अर्थात् पर्सि बुक क्लोज गर्ने निर्णय गरेको छ। तसर्थ भोलिसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।