मुक्तिनाथ विकास बैंकले डिजिटल बैंकिङ्गमा नयाँ अध्याय: ‘मुक्तिनाथ फाइदा एप’ सञ्चालनमा
काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न आफ्नो मोवाइल बैंकिङ सेवा विस्तार गर्दै थप सुविधासहितको ‘मुक्तिनाथ फाइदा एप’ सञ्चालनमा ल्याएको छ। नयाँ एपले ग्राहकलाई सहज, सुरक्षित र व्यापक डिजिटल बैंकिङ अनुभव प्रदान गर्ने उद्देश्य राखेको बैंकले जनाएको छ।
बैंकका अनुसार ‘मुक्तिनाथ फाइदा एप’ डिजिटल बैंकिङ्गको सर्वव्यापी दृष्टिकोणमा आधारित छ। यसले ग्राहकलाई घरमै बसेर बैंकिङ्ग सेवा उपयोग गर्न सहज बनाउनेछ। एपमा राखिएका विशेषताहरूमध्ये मुख्य आकर्षण भनेको उन्नत सुरक्षा प्रणाली हो, जसले ग्राहकको डिभाइसको पहिचान गरी अनधिकृत पहुँचलाई रोक्न सहयोग पुर्याउनेछ।
ग्राहकहरूले एउटै पासवर्ड प्रयोग गरी मोबाइल फोन तथा वेब प्लेटफर्मबाट आफ्ना खाताहरू सुरक्षित रूपमा चलाउन सक्छन्।
एपमा उपलब्ध विशेष सुविधाहरू
‘मुक्तिनाथ फाइदा एप’ले निम्न सेवाहरू उपलब्ध गराएको छ:
– विभिन्न बिल भुक्तानी (विद्युत्, इन्टरनेट, टेलिकम आदि)।
– नगद जम्मा भौचर तथा एटिएम कार्ड नविकरण।
– इ-कमर्स कार्ड सक्रिय गर्न मिल्ने सुविधा।
– भाषा छनोट, विदेशी मुद्रा विनिमय दर तथा बैंकका व्याजदरको जानकारी।
– गुनासो तथा सुझाव दिन सकिने व्यवस्था।
– चेक बुक अनुरोध, भुक्तानी तालिका व्यवस्थापन, आम्दानी र खर्चको ग्राफ।
– असफल कारोबारको दाबी गर्न सकिने प्रणाली।
यसका अतिरिक्त, ग्राहकले बैंकले प्रदान गर्ने वस्तु तथा सेवाको विस्तृत जानकारी, भेटघाटको अनुरोध र बैंकको सूचना सुविधाहरू प्राप्त गर्न सक्नेछन्।
बैंकले डिजिटल सेवाको विस्तारसँगै आफ्नो सामुहिक लगानी योजनालाई समेत अगाडि बढाएको छ। बैंकले ‘मुक्तिनाथ म्युचुअल फण्ड’ नामक कोषलाई आउँदो मंसिर महिनाभित्र सार्वजनिक निष्कासनमार्फत इकाइहरू बिक्रीमा ल्याउने योजना बनाएको छ। यस कोषको प्रवद्र्धक मुक्तिनाथ विकास बैंक हो भने योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटल रहेको छ।
डिजिटल बैंकिङको प्रवर्द्धन र लगानी व्यवस्थापनको क्षेत्रमा ल्याइएको यी कदमहरूले ग्राहकलाई सुरक्षित, सरल र प्रभावकारी सेवा प्रदान गर्न सहयोग पुग्ने बैंकको विश्वास छ। मुक्तिनाथ विकास बैंकले डिजिटल युगसँग मेल खाने सुविधा थप गर्दै आगामी दिनमा थप नवीनतम सेवाहरू प्रदान गर्ने योजनामा रहेको छ।