आज सार्वजनिक विदा दिने सरकारको निर्णय, कार्यालय पुगेका कर्मचारीहरु घर फर्कँदै
काठमाडौं । आज विहान बसेको नेपाल सरकार मन्त्रिपरिषदको बैठकले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा शोक बिदा दिने निर्णय गरेको छ । कार्यालय सुरु हुनै लाग्दा एकाएक सार्वजनिक विदा दिने निर्णय गरेपछि कार्यालय पुगेका कर्मचारीहरु घर फर्कदैछन् ।
सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आज राष्ट्रिय शोक मनाउने र सार्वजनिक विदा दिइएको पुष्टि गरेका छन् । एकाएक विदा दिने निर्णय गरेपछि सेवा लिन कार्यालय जाँदै गरेका सेवाग्राहीहरु अलपत्रमा परेका छन् ।
पूर्व सभामुख ढुंगानाको आइतबार दिउँसो उपचारको क्रममा निधन भएको थियो । ढुंगानाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै छ । पूर्व सभामुख ढुंगाना नेपाली कांग्रेस समर्थित नेता हुन् । ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने निर्णय गर्दै विदा दिने भएको हो।
वरिष्ठ अधिवक्ता समेत रहेका ढुंगाना २०४८ सालमा सम्पन्न भएको आम निर्वाचनपछि तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले संसद बिघटन गर्दा २०५१ सालसम्म सभामुख बनेका थिए ।
सार्वजनिक विदा दिने निर्णय भएकोले आज बैंक तथा बीमा कम्पनीहरु खुल्ने छैनन् । यद्यपि सरकारको औपचारिक निर्णय बाहिर आउँदासम्म कार्यालयमा पुगिसकेका कर्मचारीहरुले भने काम गर्नेछन् ।