साउदी, दुबई र कतारबाट दैनिक अर्बौ रुपैयाँ हुण्डीमार्फत भित्रिदै, दुई रेमिट्यान्सको गतिविधि शंकास्पद

३ मंसिर २०८१, सोमबार ०७:५४

काठमाडौं । युएईस्थित एक बहुराष्ट्रिय कम्पनीमा करिब सात हजार नेपाली कामदार काम गर्दै आएका छन् । सो मध्ये करिब ७० प्रतिशतले मात्रै बैधानिक बाटोबाट नेपालमा रकम पठाउँछन् । बाँकी ३० प्रतिशतले हुण्डिमार्फत रकम नेपाल पठाउने गरेको सो कम्पनीमा कार्यरत एक कामदारले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा बीमापोष्टलाई बताए ।

त्यस्तै, साउदी र कतारबाट समेत दैनिक करोडौं रुपैयाँ अबैध रुपमा हुण्डीमार्फत नेपाल भित्रने गरेको छ । नेपालबाट घरजग्गा, सम्पत्ति, शेयर बिक्रीबाट आर्जित रकम सिधैं दुबई, युरोप, अमेरिकादेखि चीन तथा सिंगापुर पुर्याउन अबैध हुण्डीको प्रयोग हुँदै आएको छ । यसरी नेपालबाट पुँजि पलायन गराउन विदेशबाट आउने रेमिट्यान्सलाई हुण्डीको रुपमा कारोबार हुने गरेको छ । अबैध भित्रिएको सुन बिक्री बापतको रकम हुण्डीमार्फत सिधैं विदेशमा भुक्तानी हुने गर्दछ ।

विदेशमा नेपालीहरुले सटहीदरमा ५० पैसादेखि एक रुपैयाँसम्म महंगो तिरेर हुण्डीवालाहरुले उता रकम लिन्छन् । नेपाली कामदारहरुले महिनाभरीको तलव (करिब ४० हजार नेपाली रुपैयाँ) नेपाल पठाउन औपचारिक च्यानलबाट भन्दा हुण्डीबाट एक हजार रुपैयाँ जति फाइदा हुन्छ । विदेशमा रगत पसिना बगाएका कामदारहरुले औपचारिक प्रत्येक महिना हजार रुपैयाँ बढि पाउने हुँदा त्यसरी हुण्डीको कारोबार गर्न पुग्दछन् । रोजगार गतव्य मुलुकमा रहेको सिटी एक्सप्रेस, आईएमई पे, प्रभु पे जस्ता रेमिट्यान्स कम्पनीहरुले बढि कमिशनको लोभ गरेका कारण पनि श्रमिकहरुले नेपाल रकम पठाउँदा हुण्डीको साहारा लिन पुग्ने गरेको कतिपय घटनाक्रममा देखिएको छ । र, यसरी अबैध रुपमा विदेशमा लिएको रकम नेपालमा विभिन्न च्यानलबाट भुक्तानी गर्दछन् ।

विदेशमा नेपालीहरुले कमाएको रकम अबैध रुपमा हुण्डीमार्फत नेपाल भित्रिँदा सरकारले पाउने ठूलो रकम कर छली भएको छ । हुण्डीले देशको अर्थतन्त्र ध्वस्त पार्न भूमिका खेल्ने गर्दछ । स्वदेशभित्रको पुँजि विदेश पलायनमा हुण्डीकै मुख्य भूमिका रहँदै आएको छ ।

पछिल्लो समय केही रेमिट्यान्स कम्पनीको कारोबार ह्वात्तै घटेको छ । नेपाल राष्ट्र बैंक आँखा चिम्लेर बसेका कारण कारोबार ह्वात्तै घटेको कम्पनीका शंकास्पद कारोबारबारे सुक्ष्म अनुगमन नहुँदा हुण्डीको कारोबार खुलेआम भइरहेको छ । देशका ठूला व्यापारी, ठेकेदार, धन्दावालको अबैध मौद्रिक कारोबार नियमन गर्न असफल नेपाल राष्ट्र बैंक हुण्डी कारोबार नियन्त्रण गर्न समेत असफल हुँदै आएको छ ।
नेपाल राष्ट्र बैंकले चाहने हो भने अबैध हुण्डीको कारोबारीहरुको पहिचान तत्काल गर्न सक्ने भएपनि त्यहाँका तल्ला तहदेखि उच्च तहसम्मका अधिकारीहरु ठूला माछासँगै मिल्ने गरेकाले दुबई, कतार तथा साउदी लगायतका देशबाट हुण्डीको कारोबार मौलाउँदो अवस्थामा पुगेको छ ।

केन्द्रीय बैंकले पुँजि पलायन रोक्नेबारे ध्यान नदिँदा नेपालमा सामान्य व्यवसाय गर्ने, चिया दोकान चलाउने तथा पत्रकार समेतले दुबईमा पुगेर थकाली भान्छाघर, रेष्टुरेन्ट खोल्न सफल भएका छन् । पत्रकार मात्रै होइन, नेपाल उद्योग बाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेयर गोल्छा, विवादित व्यापारी पवन गोल्यानले करोडौं रुपैयाँ खर्च गरेर आफ्ना सन्तानको विवाह भव्य रुपमा नै दुबईमा गरेका थिए । ति व्यापारीहरुले आफ्ना छोराको विवाह दुबईमा सम्पन्न गर्ने गरी करोडौं रुपैयाँ कसरी त्यहाँ पुर्याए ? राष्ट्र बैंकसँग कुनै जवाफ छैन । ठूला व्यापारीले बगाउने पैसाको भेलबाढीमा आफै बग्ने राष्ट्र बैंकका कर्मचारी तथा उच्च तहका नेतृत्वका कारण मौद्रिक नियमन फितलो बन्दै गइरहेकै कारण अबैध हुण्डीले देश दिनप्रतिदिन कंगाल बन्दै गइरहेको छ ।

उता, पछिल्लो पटक सिटी एक्सप्रेस र आइएमई पेको भूमिका शंकास्पद देखिएको छ । सिटी एक्सप्रेसले यस वर्ष सबैभन्दा धेरै कर तिरेको भन्दै कर कार्यालयबाट सम्मान समेत पाएको छ । हुण्डीमा नेपालमा रेमिट्यान्स भित्राउने मुख्य कम्पनीहरुकै गतिविधिहरु शंकास्पद देखिएका छन् । यि कम्पनीका साउदी, दुबई, कतारमा रहेका काउन्टर तथा स्थानीय एजेन्टहरु नै हुण्डी कारोबार संलग्न रहेको पाइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*