बजारमा झिनो सुधारः कारोबार ११ अर्ब ७२ करोड, मौद्रिक नीति समिक्षाले ल्याउँला उछाल ?
काठमाडौँ । बजार आज झिनो अकंले बढ्न पुगेको छ । दिनभर उताप–चडाबकाबीच बजारमा सामान्य सुधार देखिएको हो ।
शेयर लगानीकर्ताले मौद्रिक नीतिको पहिलो समिक्षा कुरिरहेका छन् । पहिलो समिक्षा मार्फत शेयर बजारलाई बाधा गर्ने केहि नीति खुकुलो भएको खण्ड बजारले लय लिने विश्वास गरीएको छ । लगानीकर्ताले प्रमुख माग अन्तर्गत शेयर धितोकर्जामा ब्यक्तिगत तर्फमा लगाएको क्याप र जोखिमभार १०० प्रतिशतमा पुराउन माग गरेका छन् । यता, लघुवित्तको लाभांशमा तोकिएको सीमा समेत खारेजको माग लगानीकर्ताहरुको रहेको छ ।
नियामक निकाय शेयर बजारप्रति सकारात्मक रहेको बेला आफ्ना माग मौद्रिक नीतिको समिक्षा मार्फत पुरा हुने विश्वास आम लगानीकर्ताहरुको रहेको छ । अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलिले शेयर बजारलाई विशेष चासोको रुपमा हेर्दै आइरहेका छन् । सोहि कारण पनि लगानीकर्ता उत्साहित देखिन्छन् ।
बैंकको ब्याजदर समेत निरन्तर ओरालो लागि रहेको र अर्थतन्त्रका सूचक समेत सकारात्मक हुँदै गएको बेला बजारले बुलको यात्रा तय गर्ने आंकलन हुन थालेका हुन् । बजार घट्नुपर्ने कारण नभएको भन्दै लगानीकर्ताले मौद्रिक नीति हेरेर बसेको एक लगानीकर्ताले बताए । मौद्रिक नीतिसम्म लगानीकर्ता पर्ख र हेरको अवस्था रहेको देखिन्छ ।
वित्तीय अवस्थामा सबल, उत्कृष्ट लाभांश दिन सक्ने र नेटवर्थ राम्रो भएका कम्पनी लगानीकर्ताले रोज्न सकेको खण्डमा बजारले सकारात्मक यात्रा तय गर्ने र लगानी डुब्ने जोखिम समेत नहुने जानकारहरु बताउँछन् ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.९८ अकंले बढेर २७५३.७६ बिन्दुमा कायम भएको छ । आज ३२६ कम्पनीको २ करोड ४४ लाख २६ हजार ९०० कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ७२ करोड ६७ लाख ५६ हजार रुपैयाँको शेयर कारोबार भएको हो ।
आज ९ कम्पनीको उपसूचकमा हरियाली आएको छ । विकास बैंक समूहको ०.६२ प्रतिशत, होटल तथा पर्यटन समूहको २.२१ प्रतिशत, हाइड्रोपावर समूहको ०.८५ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.१७ प्रतिशतले शेयर मूल्य बढेको छ ।
यसदिन तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आइतबार १४५ कम्पनीको शेयर मूल्य बढ्दा ९२ कम्पनीको घटेको छ।