कीर्तिपुरको मेयरमा दिलकुमार महर्जनको उम्मेदवारी दर्ता

२ मंसिर २०८१, आईतवार १३:३१

काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)का दिलकुमार महर्जनले कीर्तिपुर नगरपालिकाको मेयर पदका लागि उम्मेदवारी दर्ता गरेका छन्।

मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि महर्जनले पहिलो नम्बरमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। यससँगै अन्य दलको तर्फबाट पनि उम्मेद्वारी दर्ता हुन शुरू भएको छ।

मेयर पदमा प्रतिस्पर्धा गर्न नेकपा एमालेका डा. सुरेन्द्र मानन्धर, नेपाली कांग्रेसका कृष्णमान डंगोल, नेकपा माओवादी केन्द्रका प्रा.डा. शिवशरण महर्जन र राप्रपाका ध्रुव महर्जनलगायत उम्मेदवार रहेका छन्। एकीकृत समाजवादी र नेसपाको महिन्द्रराय यादव समूहले भने माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गर्ने सहमति गरेका छन्।

उपनिर्वाचन कार्यतालिका अनुसार मंसिर ३ गते उम्मेदवारविरुद्ध उजुरी दिन सकिनेछ। उजुरी उपर छानबिन गरी मंसिर ४ गते निर्णय हुनेछ भने उम्मेदवारले मंसिर ५ गते दिउँसो १ बजेसम्म नाम फिर्ता लिन सक्नेछन्। त्यही दिन उम्मेदवारहरूको अन्तिम नामावली र निर्वाचन चिह्न प्रकाशित हुनेछ।

मतदान मंसिर १६ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*