सूचीकृत ४ सिमेन्ट उद्योगः शिवम अधिकांश सूचकमा नम्बर वान हुँदा तीन कम्पनी धरापमा, कुनमा लगानी सुरक्षित ?

२ मंसिर २०८१, आईतवार १३:२१

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत चार सिमेन्ट कम्पनीहरुले आर्थिक वर्ष २०८१।०८२ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । यी विवरणले कम्पनीहरुको वित्तीय अवस्था कमजोर बन्दै गएको चित्रण गरेको छ । निर्माण क्षेत्रमा देखिएको आर्थिक मन्दी र विविध चुनौतीका कारण सिमेन्ट कम्पनीहरुको व्यवसाय खुम्चिँदै गएको छ ।

सर्वोत्तम, सोनापुर, घोराही र शिवम सिमेन्टले प्रिमियममा आइपीओ जारी गरेका थिए । तीमध्ये शिवम सिमेन्टको वित्तीय अवस्था तुलनात्मक रुपमा सन्तोषजनक देखिएको छ । यद्यपि, अन्य कम्पनीहरुको अवस्था चिन्ताजनक छ । यस्तै, दोस्रो बजारमा ५०० देखि ७०० रुपैयाँबीच शेयर मूल्य रहेका यी कम्पनीहरु वित्तीय रूपमा सुधार गर्न असफल देखिएका छन् ।

आर्थिक मन्दी र निर्माण व्यवसायीलाई समयमा वक्यौता उपलब्ध नभएको अवस्थाले सिमेन्ट उद्योगमा नकारात्मक प्रभाव पारेको छ । यसले कम्पनीहरुको कारोबार खुम्चिनुका साथै नाफा घटाएको छ । यद्यपि, पुँजी बजारमा यी कम्पनीका शेयर मूल्य उच्च नै छन्, जुन बजारमा भइरहेको चलखेलको संकेत हो ।

वित्तीय रुपमा कमजोर सर्वोत्तम सिमेन्टको शेयर मूल्य भने सबैभन्दा माथि छ । तर यसको वित्तीय विवरण धरापमा रहेको स्पष्ट छ । भविष्यमा यी कम्पनीहरुले वित्तीय पुनर्संरचना र व्यवसायिक रणनीतिहरु सुधार नगरेसम्म पुँजी बजारमा दीर्घकालीन विश्वसनीयता कायम गर्न सक्ने सम्भावना कम देखिन्छ ।

नाफामा शिवमको अग्रता, दुई कम्पनी ऋणात्मक

नेप्सेमा सूचीकृत चार सिमेन्ट कम्पनी मध्ये नाफा शिवम अग्र स्थानमा रहेको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीको नाफा १ करोड २७ लाख ९९ हजार रुपैयाँ रहेको छ । गत आवको सोहि अवधिमा कम्पनीले ५ करोड ३४ लाख २० हजार रुपैयाँ ऋणत्मक रहेको थियो ।

समग्रमा हेर्दा शिवमको वित्तीय अवस्था अन्य कम्पनी भन्दा लोभलाग्दो छ । अन्य सबै कम्पनीको नाफा भने ऋणात्मक अवस्थामा रहेको छ ।

सर्वोत्तम सिमेन्ट २ करोड २५ लाख, सोनापुर ८ करोड ५५ लाख र घोराही सिमेन्ट ५१ अर्ब ३७ करोड रुपैयाँ ऋणात्मक रहेको छन् ।

प्रतिशेयर आम्दानीमा पनि शिवम नै नम्बर वान

चार सिमेन्ट कम्पनी मध्ये नाफामा अग्र स्थानमा रहेको शिवम प्रतिशेयर आम्दानीमा समेत नम्बर वानमा रहेको छ । चालु आवको तीन महिनामा कम्पनीको प्रतिशेयर आम्दानी १.०२ रुपैयाँ रहेको छ । भने प्रतिशेयर नेटवर्थ १८९.२८ रुपैयाँ रहेको छ ।

अन्य कम्पनीहरुको प्रतिशेयर आम्दानी भने ऋणात्मक अवस्थामा रहेको छ । प्रतिशेयर नेटवर्थमा भने घोराही सिमेन्ट अग्र छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १९६.६३ रुपैयाँ रहेको छ ।

चुक्तापुँजी कसको कति ?

चुक्तापुँजी धेरै हुनेमा शिवम सिमेन्ट पहिलो नम्बरमा रहेको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीको चुक्तापुँजी ५ अर्ब २ करोड ७० लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १४.२५ प्रतिशतले बढी हो ।

यता, चालु आवको तीन महिनामा सर्वोत्तमको चुक्तापुँजी ४ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । चार कम्पनी मध्ये धेरै चुक्तापुँजी हुने सर्वोत्तम दोस्रो हो ।

साथै, घोराहीको चुक्तापुँजी १५ प्रतिशतले बढेर ४ अर्ब ५६ करोड ७६ लाख रुपैयाँ र सोनापुरको ३ अर्ब ७ करोड ५० लाख रुपैयाँ रहेको छ ।

उत्पादन बिक्रीबाट हुने आम्दानी

उत्पादन बिक्रीबाट हुने आम्दानीमा भने सर्वाेत्तमको १ अर्ब ४५ करोड ५१ लाख रुपैयाँ रहेको छ । उक्त आम्दानी गत आर्थिक वर्षको तुलनामा भने ७७.१६ प्रतिशतले कम हो ।

त्यस्तै, शिवम सिमेन्टको १ अर्ब ४० करोड, घोराहीको ६६ करोड ८४ लाख र सोनापुरको ३४ करोड ३० लाख रुपैयाँ उत्पादन बिक्रीबाट आम्दानी भएको छ ।

जगेडा कोष

जगेडा कोषमा सर्वोत्तमको ४ अर्ब २३ करोड ५४ लाख रुपैयाँ रहेको छ । यो चार सिमेन्ट मध्यकै सबैभन्दा धेरै हो ।

यता, शिवम सिमेन्टको ३ अर्ब ५३ करोड, घोराही सिमेन्टको १ अर्ब ६७ करोड र सोनापुरको २० करोड रुपैयाँ जगेडा कोषमा रहेको छ ।

अन्य आम्दानी

अन्य आम्दानीमा शिवम नै अघि देखिएको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्मको अवधिमा कम्पनीको अन्य आम्दानी ४०० रुपैयाँले बढेर १० करोड ५७ लाख रुपैयाँ पुगेको हो ।

त्यस्तै, घोराही सिमेन्टको ८० प्रतिशतले घटेर ८८ लाख रुपैयाँ, सोनापुरको ५६ प्रतिशतले घटेर २ लाख रुपैयाँ र सर्वाेत्तमको ७६ प्रतिशतले घटेर १ लाख रुपैयाँमा अन्य आम्दानी सीमित बनेको छ ।

वित्त खर्च

वित्त खर्च शिवम सिमेन्टको २७ लाख, सर्वोत्तमको ७ करोड ८६ लाख, सोनापुरको ७ करोड ७४ लाख ऋणात्मक र घोराहीको २५ करोड ऋणात्मक रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*