एभरेष्ट कलरले पारित गर्यो आईपीओ निष्कासन प्रस्ताव, ५ जना सञ्चालक निर्वाचित
काठमाडौं । रंग उत्पादन कम्पनी एभरेष्ट कलर लिमिटेडले सर्वसाधारणलाई चुक्ता पूँजीको १५ प्रतिशत साधारण शेयर निस्कासन (आईपीओ) गर्ने प्रस्ताव पारित गरेको छ। शनिबार सम्पन्न पहिलो साधारणसभाले यससँगै संस्थापक शेयरधनीका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने पाँच जना सञ्चालकलाई पनि निर्वाचित गरेको छ।
एभरेष्ट कलरको अधिकृत पूँजी ३० करोड रुपैयाँ र जारी पूँजी २६ करोड रुपैयाँ रहेको छ। संस्थापक शेयरधनीहरूले २२ करोड १० लाख रुपैयाँ चुक्ता गरिसकेको र १५ प्रतिशत साधारण शेयर निस्कासनपछि चुक्ता पूँजी २६ करोड रुपैयाँ पुग्नेछ।
कम्पनीका निर्वाचित सञ्चालकहरूमा सरोज लुईटेल, राजनलाल श्रेष्ठ, महेश्वर खनाल, रोजीना श्रेष्ठ र आत्माराम ढुंगाना छन्। ७ सदस्यीय सञ्चालक समितिमा सर्वसाधारण शेयरधनीका तर्फबाट एक जना र एक स्वतन्त्र सञ्चालक पनि रहने व्यवस्था छ। निर्वाचित सञ्चालकहरूलाई निर्वाचन अधिकृत अधिवक्ता लीलानाथ घिमिरेले प्रमाणपत्र प्रदान गरेका हुन्।
यो कम्पनी १४ वर्षअघि स्वदेशी युवाहरूको सहकार्यमा आयात प्रतिस्थापन, रोजगारी सिर्जना र आन्तरिक राजस्वमा योगदान गर्ने उद्देश्यले स्थापना भएको हो। ५ महिनाअघि प्राइभेट लिमिटेडबाट पब्लिक लिमिटेडमा रूपान्तरण भएको यो कम्पनीले बाह्य र आन्तरिक सतहका लागि प्रिमियम गुणस्तरका विभिन्न ब्रान्डका रंगहरू उत्पादन गर्दै आएको छ।
कम्पनीले बाहिरी सतहको लागी १० वर्ष वारेन्टी भएको ब्रिलिएन्ट ड्याम्प प्रुफ, ७ वर्ष वारेन्टी भएको एभरगार्ड प्रिमियम इमल्सन, एभरसाइन एक्स्टेरियर इमल्सन र एभरकोट एक्स्टेरियर इमल्सन, भित्री सतहको लागी सफिर लग्जरी इन्टेरियर, डाइसी प्रिमियम इन्टेरियर, बेल इन्टेरियर, फुच्चे बेल इन्टेरियर, एलियन इन्टेरियर इमल्सन, रोयल एक्रेलिक वासेबल डिस्टेम्पर, बेल एक्रेलिक डिस्टेम्पर, प्राईमर तर्फ प्रिमियम एक्टेरियर, इन्टेरियर प्राइमर, काठ तथा धातुमा प्रयोग हुने एभरल्याक हाइक्लास इनामेल, जुरेली सिन्थेटिक इनामेल, गैंडा बजेट एसवाइएन, इनामेल तथा त्यसमा प्रयोग हुने उड प्राइमर, मेटल प्राइमर रेड अस्साइड, लगायतका आल्मुनियम पेन्टस्, वाटर प्रुफिङ, गोल्ड पेन्ट, फ्लोर अक्साइड पाउडर, आर्ट कार्यमा प्रयोग हुने एभरेष्ट च्वाइसलगायत औधोगिक प्रयोजनको लागी प्रयोग हुने विभिन्न कलरहरु उत्पादन गर्दै आईरहेको छ । निकट भविष्यमा कम्पनीले १२ वर्षे वारेन्टी भएको सुपर प्रिमियम एक्स्टेरियर इमल्सन बजारमा ल्याउने तयारी थालेको छ।
अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (आईएसओ ९००१ः२०१५) प्राप्त एभरेष्ट कलरले अत्याधुनिक प्रविधि र मेसिन प्रयोग गरी वातावरणमैत्री उत्पादनलाई प्राथमिकता दिँदै नेपाली बजारमा उच्च गुणस्तरका रंगहरू उपलब्ध गराइरहेको छ।