घुस सहित पक्राउ परेका सिम्रौनगढका निमित्त प्रशासकीय अधिकृत साहविरुद्ध मुद्दा दायर
काठमाडौं । ७८ हजार रुपैयाँ घुस रकम सहित पक्राउ परेको बारा जिल्लाको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साह कानुविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ। उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मु्द्दा दायर गरेको हो।
एक विशेष सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट खटिएको टोलीले साहलाई ७८ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको थियो।
पक्राउ गरी अनुसन्धान गर्ने क्रममा साहले बिल भुक्तानी गरेबापत सेवाग्राहीबाट घुस लिएको पुष्टी भएकाले उनीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।
अख्तियारले साहविरुद्ध भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (१) बमाजिमको कसुरमा घुस रकम बराबरको बिगो रकम दाबीसहित मुद्दा दायर गरेको बताएको छ।