एलआईसी नेपालले मंसिर १२ गतेदेखि हकप्रद शेयर निष्कासन गर्दै
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी) ले मंसिर १२ गतेदेखि चुक्ता पूँजीको ८८.४५१६८ प्रतिशत बराबरको हकप्रद शेयर बिक्री खुला गर्ने भएको छ।
कम्पनीले १ कित्ता साधारण शेयर बराबर नयाँ ०.८८४५१६८ कित्ता अनुपातमा हकप्रद निष्कासन गर्न लागको हो। कम्पनीले २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ।
कम्पनीले कात्तिक ९ गते बुक क्लोज गरिसकेकाले कात्तिक ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्र यो हकप्रद शेयरमा आवेदन दिन योग्य हुनेछन्। यस हकप्रद शेयरमा लगानीकर्ताले पुस २ गतेसम्म आवेदन दिन सक्नेछन्।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताले बिक्री प्रबन्धकका साथै एलआईसी नेपालका सम्पूणर् शाखा कार्यालय तथा आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन्।
हकप्रद निष्कासन प्रयोजनका लागि गराइएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ‘ए प्लस’ प्रदान गरेको छ। यस रेटिङ्गले कम्पनीको समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा पर्याप्त सुरक्षा रहेको देखाउँछ। हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ रहेको छ। हकप्रद शेयर बाँडफाँडपछि चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुग्नेछ।