नेपाल लाइफको नाफासँगै ईपीएस वृद्धि, जीवन बीमा कोष २ खर्ब ८ अर्बमाथि
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्ष (आव)को प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको प्रथम त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ३० दशमलव ०६ प्रतिशत वृद्धि भएको छ।
गत आवको असोज मसान्तसम्म कम्पनीले १५ करोड ७९ लाख रुपैयाँ नाफा कमाएकोमा चालू आवमा २० करोड ५४ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ।
यसै अवधिमा कम्पनीको जीवन बीमा कोष समेत १९ दशमलव ५४ प्रतिशत वृद्धि भएको छ। गत आवको पहिलो त्रैमाससम्म १ खर्ब ७४ अर्ब ३७ करोड रुपैयाँ रहेको जीवन बीमा कोष चालू आवको यसै समयमा बढेर २ खर्ब ८ अर्ब ४४ करोड रुपैयाँभन्दा माथि पुगेको छ।
समीक्षा अवधिमा कम्पनीको आम्दानी समेत १४ दशमलव ३० प्रतिशतले वृद्धि भएको छ। गत आवमा कम्पनीको कुल आम्दानी १५ अर्ब ७२ करोड रहेकोमा चालू आवको यसै समयमा बढेर १७ अर्ब ९७ करोड रुपैयाँभन्दा बढी पुगेको छ।
त्यस्तै, गत आवको प्रथम त्रैमाससम्म कम्पनीले १० अर्ब ८२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा चालू आवका बढेर ११ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ।
कम्पनीको चुक्ता पूँजी ८ अर्ब २० करोड रुपैयाँ छ। कम्पनीले पहिलो त्रैमाससम्ममा रिटेन्ड अर्निङमा ७१ करोड १९ लाख रुपैयाँ र महाविपत्ति कोषमा १ अर्ब ११ करोड रुपैयाँ सञ्चित गरेको छ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) समेत वृद्धि भएको छ। गत आवको प्रथम त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ७० पैसा रहेकोमा चालू आवको यसै समयमा २ रुपैयाँ ३१ पैसाले बढेर १० रुपैयाँ १ पैसा पुगेको छ। त्यस्तै, कम्पनीको प्रतिशेयर नेटवर्थ १३१ रुपैयाँ ९९ पैसा छ।