बजारमा ओरालो यात्राको निरन्तरताः खुम्चिदै परिसूचक २७३४ बिन्दुमा, किन बढ्दै छैन मार्केट ?

२८ कार्तिक २०८१, बुधबार १५:०७

काठमाडौँ । बजारमा ओरालो यात्राले निरन्तरता दिएको छ । बजार आज पनि दोहोरो अकंले घट्न पुगेको हो । हरियालीका कारण उत्साहित भएका लगानीकर्ताहरूले आजको करेक्शनलाई बजारमा अस्थिरताको संकेतका रूपमा हेरेका छन् ।

लगानीकर्ताहरू हाल बजारलाई माथि उठाउन नियामक निकायबाट केही सहयोगको अपेक्षा गरिरहेका छन् । उनीहरू शेयर बजार सुधारका लागि नीति निर्माणमा थप ध्यान दिन माग गरिरहेका छन् । आगामी केही दिनभित्रै आउन लागेको मौद्रिक नीतिप्रति पनि उनीहरूको ठूलो आशा रहेको छ । विशेषगरी, जोखिम भार र व्यक्तिगत शेयर धितो कर्जामा लगाइएको क्याप हटाउने अपेक्षासँगै बजारले बुलको यात्रा तय गर्ने विश्वास पनि राखेका छन् ।

बैंकको ब्याजदर घट्दो क्रममा रहेकोले पनि लगानीकर्ताहरूमा उत्साह थपिएको छ । ब्याजदरमा कमीले कर्जाको सस्तो पहुँच बढाउँछ, जसले शेयर बजारमा तरलता बढाउने अपेक्षा गर्न सकिन्छ । साथै, नियामक निकायहरूले पनि सकारात्मक संकेत दिएका छन् भने हाल अर्थतन्त्र सुधारतिर अघि बढिरहेको छ, जसले बजारलाई दीर्घकालीन रूपमा लाभ पुग्न सक्छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.१२ अकंले घटेर २७३४.८३ बिन्दुमा कायम भएको छ । आज ३०८ कम्पनीको १ करोड ५३ लाख ६२ हजार २०६ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ९१ करोड १९ लाख ७६ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

बजार घटेसँगै आज ९ वटा उपसूचक ओरालो लाग्न पुगेको छ । बुधबार विकास बैंक समूहको १.४७ प्रतिशत, फाइनान्स समूहको ४.२० प्रतिशत, हाइड्रोपावर समूहको ०.८१ प्रतिशत र म्युचुअल फण्ड समूहको ०.४८ प्रतिशतले शेयर मूल्य बढेको हो । अन्य सूचक भने ओरालो लाग्न पुगेको छ ।

यसदिन ६ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। आज ९९ कम्पनीको मूल्य बढ्दा १३८ कम्पनीको घट्न पुगेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*