नागरिक लगानी कोषको नाफा १३ प्रतिशत वृद्धि
काठमाडौं । नागरिक लगानी कोषल चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा ३० करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १३.६२ प्रतिशत बढी हो। गत वर्ष यसै समयमा कोषको नाफा २६ करोड ४८ लाख रुपैयाँ थियो।
कोषले असोज मसान्तसम्म सेवा शुल्क र कमिशनबाट ३९ करोड १६ लाख रुपैयाँ आम्दानी गरेको छ, जसमा अघिल्लो वर्षको तुलनामा १८.८६ प्रतिशत वृद्धि भएको देखिन्छ। यस्तै, कुल आम्दानी ५१ करोड ७० लाख रुपैयाँमा पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १२.६० प्रतिशतले बढेको हो।
कोषको ब्याज आम्दानी ३.७९ प्रतिशतले घटेर ११ करोड ९८ लाख रुपैयाँमा सीमित भएको छ। कुल खर्च भने ९.१९ प्रतिशत वृद्धि भएर ११ करोड ५७ लाख रुपैयाँ पुगेको छ।
कोषको चुक्ता पुँजीमा १४ प्रतिशत वृद्धि भई ६ अर्ब ५ करोड ७६ लाख रुपैयाँ पुगेको छ। यता जगेडा कोषमा भने २१.५६ प्रतिशत कमी आई १८ अर्ब ३४ करोड १६ लाख रुपैयाँमा झरेको छ। कोषको प्रतिसेयर आम्दानी १९.८७ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १५७.४२ रुपैयाँ रहेको छ।