लक्ष्मी लघुवित्तको नाफा ७८ प्रतिशत वृद्धि
काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ७८.४९ प्रतिशत वृद्धि भएको हो।
गत आवमा कम्पनीले ९५ लाख ३२ हजार रुपैयाँ नाफा कमाएकोमा चालू आवमा १ करोड ७० लाख रुपैयाँ नाफा कमाएको हो। चालू आवमा कम्पनीको सञ्चालन नाफा र खुद ब्याज आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो।
गत आवमा कम्पनीको सञ्चालन नाफा १ करोड ३४ लाख रुपैयाँ रहेकोमा चालू आवमा २ करोड ४० लाख रुपैयाँ रहेको छ। त्यस्तै, खुद ब्याज आम्दानी गत आवमा ७ करोड ८९ लाख रुपैयाँ रहेकोमा चालू आवमा ११ करोड ३५ लाख रुपैयाँ छ।
कम्पनीको चुक्ता पूँजी ४४ करोड १६ लाख रुपैयाँ छ। कम्पनीको जगेडा तथा कोषमा २८ करोड ६९ लाख रुपैयाँ र सञ्चित मुनाफामा १ करोड ६४ लाख रुपैयाँ छ। कम्पनीको प्रतिशेयर आम्दानी ६.७८ रुपैयाँले वृद्धि भएर १५.४१ रुपैयाँ पुगेको छ र प्रतिशेयर नेटवर्थ १६८.७० रुपैयाँ छ।