शेयर बजारमा करेक्सनः कारोबार खुुम्चिदा परिसूचक २७४८ बिन्दुमा, नियामकको सपोर्ट आवश्यक हो ?

२७ कार्तिक २०८१, मंगलवार १५:०५

काठमाडौँ । पछिल्ला दुई दिनदेखि हरियाली देखिएको शेयर बजारमा आज करेक्शन देखिएको छ । सामान्य उतार–चढावपछि बजार दोहोरो अंकले घट्न पुगेको हो । जसले लगानीकर्ताहरूमाझ केही सतर्कता निम्त्याएको छ । हरियालीका कारण उत्साहित भएका लगानीकर्ताहरूले आजको करेक्शनलाई बजारमा अस्थिरताको संकेतका रूपमा हेरेका छन् ।

लगानीकर्ताहरू हाल बजारलाई माथि उठाउन नियामक निकायबाट केही सहयोगको अपेक्षा गरिरहेका छन् । उनीहरू शेयर बजार सुधारका लागि नीति निर्माणमा थप ध्यान दिन माग गरिरहेका छन् । आगामी केही दिनभित्रै आउन लागेको मौद्रिक नीतिप्रति पनि उनीहरूको ठूलो आशा रहेको छ । विशेषगरी, जोखिम भार र व्यक्तिगत शेयर धितो कर्जामा लगाइएको क्याप हटाउने अपेक्षासँगै बजारले बुलको यात्रा तय गर्ने विश्वास पनि राखेका छन् ।

बैंकको ब्याजदर घट्दो क्रममा रहेकोले पनि लगानीकर्ताहरूमा उत्साह थपिएको छ । ब्याजदरमा कमीले कर्जाको सस्तो पहुँच बढाउँछ, जसले शेयर बजारमा तरलता बढाउने अपेक्षा गर्न सकिन्छ । साथै, नियामक निकायहरूले पनि सकारात्मक संकेत दिएका छन् भने हाल अर्थतन्त्र सुधारतिर अघि बढिरहेको छ, जसले बजारलाई दीर्घकालीन रूपमा लाभ पुग्न सक्छ ।

कुल मिलाएर हेर्दा बजारको करेक्शनलाई सामान्य उतार–चढावको रूपमा हेरिनु पर्ने र आगामी दिनमा मौद्रिक नीति तथा सुधारात्मक कदमहरूले बजारलाई पुनः माथि लैजाने आशा गरिएका छन् ।यसले लगानीकर्ताहरूको मनोबल उच्च राख्न र दीर्घकालीन आधारमा बजारलाई स्थिर राख्न सहयोग गर्नेछ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.२४ अकंले घटेर २७४८.९६ बिन्दुमा कायम भएको छ । आज ३१२ कम्पनीको १ करोड ६७ लाख ८६ हजार ९३४ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ८५ करोड ९७ लाख ४० हजार रुपैयाँको शेयर कारोबार भएको हो ।

यसदिन १० उपसूचक राताम्य भएका छन् भने फाइनान्स समूहको १.१२ प्रतिशत, निर्जीवन बीमा समूहको ०.१३ प्रतिशत र व्यापार समूहको ०.३५ प्रतिशतले शेयर मूल्य बढेको छ ।

मंगलबार ८० कम्पनीको शेयर मूल्य बढेको हो भने १५७ कम्पनीको घटेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*