अपर तामाकोशी हाइड्रोपावरमा करोडौं मूल्यका सामान चोरी

२७ कार्तिक २०८१, मंगलवार १३:५९

काठमाडौँ । राष्ट्रिय गौरवको परियोजना ४५६ मेगावाट क्षमताको अपर तामाकोशी हाइड्रोपावर आयोजनाबाट विभिन्न बहुमूल्य सामग्री चोरी भएको खुलासा भएको छ। गत असोज ११ र १२ गतेको भीषण वर्षापछि आएको बाढी र पहिरोले बाँधस्थल, कन्ट्रोल बिल्डिङ, र सेटलिङ बेसिनमा पुर्याएको क्षतिका कारण मर्मत कार्य जारी छ। यही क्रममा निकालिएका तामा, फलाम, आल्मुनियमलगायत अन्य धातुजन्य सामग्रीहरू चोरी भएको जानकारी अपर तामाकोशी हाइड्रोपावर लिमिटेड कर्मचारी यूनियनले दिएको छ।

सोमबार जारी गरिएको ध्यानाकर्षण पत्रमा युनियनले यी बहुमूल्य सामग्रीहरू रहस्यमयी तरिकाले गायब भएको भन्दै चोरीमा संलग्न दोषीहरूमाथि कडा कारबाही गर्न माग गरेको छ। युनियनका अनुसार, आयोजनामा तीन तहको सुरक्षा घेराभित्र रहँदा पनि यसअघि करोडौंको क्रेन र अन्य बहुमूल्य सामग्रीहरू चोरी भएका थिए, जसले आयोजना सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ।

हाल आयोजना व्यवस्थापनले मर्मत कार्यलाई तीव्रता दिइरहेको छ। क्षतिग्रस्त संरचनाहरूको सरसफाई र आंशिक मर्मत ‘डे वर्क्स’मा अपर तामाकोशी हाइड्रोपावर लिमिटेडका मुख्य सिभिल ठेकेदार हाइ हिमाल हाइड्रो कम्पनीद्वारा भइरहेको छ। युनियनले आयोजनाको सम्पत्तिको सुरक्षा सुनिश्चित गर्दै यस्ता घटनाको पुनरावृत्ति रोक्न सरकारी निकायलाई तत्काल आवश्यक कदम चाल्न आग्रह गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*