विकास र लगानीलाई रोक्नु मुलुकको प्रगति अवरुद्ध गर्नु होः अध्यक्ष ढकाल

२७ कार्तिक २०८१, मंगलवार १२:१९

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोक्नाले देशको आर्थिक प्रगति र भावी पुस्तालाई नकारात्मक असर पर्ने बताएका छन्।

गण्डकी प्रदेशमा आयोजित दोस्रो गण्डकी प्रदेश महोत्सवको उद्घाटनमा बोल्दै उनले भने, “नेपालका कतिपय क्षेत्रमा अझै पनि विकास र लगानीमा अवरोध पुर्‍याउने सोच हटेको छैन। यस किसिमका अवरोधले लगानीमा मात्र नभई देशको समृद्धि र विकासमा समेत नकारात्मक असर पार्छ।” उनले सबैलाई विकासका काममा अवरोध नगर्न आग्रह गरे।

ढकालले चन्द्रागिरि केबलकार परियोजना बनाउँदा समेत प्रतिरोधको सामना गर्नुपरेको अनुभव सुनाउँदै भने, “तर अहिले त्यो क्षेत्र समृद्ध छ। स्थानीयले रोजगारी पाएका छन्, मुलुकले एउटा पर्यटकीय गन्तब्य पाएको छ।”

उनले गण्डकी प्रदेशको विकास र पर्यटकीय सम्भावनालाई उजागर गर्न निजी क्षेत्र र सरकारबीच सहकार्य आवश्यक रहेको बताए। म्याग्दीदेखि कोरोला नाका जोड्ने सडक स्तरोन्नति भएमा कालीगण्डकी कोरिडोरले नेपाल र दुई ठूला अर्थतन्त्रलाई जोड्ने सम्भावना पनि रहेको उनले बताए।

ढकालले मुलुकमा बढ्दै गएको नैराश्यतालाई चिर्न र विभिन्न सम्भावित आयोजनामा लगानी गर्न र निजी क्षेत्रको लगानी भित्र्र्याउन नेपाल डेभलपमेन्ट कम्पनी स्थापना गरिएको उल्लेख गर्दै भने, “नेपाल उद्योग वाणिज्य महासंघको अगुवाईमा नेपाल डेभलपमेन्ट कम्पनी स्थापना भएको छ। यहाँहरुसँग व्यवसायिक सोच छ, त्यसमा इक्विटीको अभाव छ। तपाईहरुको उक्त सोचमा त्यस कम्पनीले लगानी गर्नेछ भने यहाँहरुसँग बचत छ र कुनै सम्भावित आयोजनामा लगानी गर्न इच्छुक हुनुहुन्छ भने तपाईहरुले पनि यस कम्पनीमार्फत त्यसमा लगानी पनि गर्न सक्नुहुन्छ।”

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*