थमसेर्कु समूहको तारा एयर १ अर्ब ६६ करोड ऋणमा, घटाईयो रेटिङ
काठमाडौँ । तारा एयर प्रालिको क्रेडिट रेटिङ [ICRANP] LD/D मा घटाइएको छ । सन् २०२४ अक्टोबर २८ मा सार्वजनिक यो रेटिङ अनुसार कम्पनीको लामो र छोटो अवधि ऋणमा कमी आएको जनाइएको छ ।
लामो अवधि ऋण सीमा (फन्ड आधारित) ३९ करोड ४० लाख, जुन[ICRANP] LB- बाट [ICRANP] LD मा घटाइएको छ । छोटो अवधि ऋण सीमा (फन्ड आधारित) २४८.४३ मिलियन, जुन [ICRANP] A4 बाट [ICRANP] D मा घटाइएको छ । यता, गैर–फन्ड आधारित सीमा (बैंक ग्यारेन्टी) १४५.४१ मिलियन छ ।
तारा एयरको रेटिङ घट्दा ७८७.८५ मिलियन नेपाली रुपैयाँ र ६.६८ मिलियन अमेरिकी डलर (नेपालीमा १ अर्ब ६६ करोड ९६ लाख रुपैयाँ) ऋणमा प्रत्यक्ष असर परेको छ ।
इक्रा नेपालले तारा एयरले आफ्नो ऋण सेवा व्यवस्थापनमा ढिलाइ गरेको पुष्टि गर्दै रेटिङ घटाएको हो । कम्पनीको ऋण भुक्तानीमा ३० दिनभन्दा बढी ढिलाइ भएको रेकर्ड भएपछि यो निर्णय लिइएको हो । यसमा इक्रा नेपालको डिफल्ट रेकग्निशन पोलिसीलाई आधार मानिएको छ । पछिल्लो समय कम्पनीको व्यापार समेत निरन्तर खुम्चिदै गएको छ ।
सन् २००८ मा स्थापना भएको तारा एयर प्रालि (तारा) नेपालकै घरेलु एयरलाइन्स कम्पनी हो, जसले सर्ट टेकअफ एन्ड ल्यान्डिङ गन्तव्यहरूमा उडान भर्छ । यसका लागि तारा एयरसँग तीन वटा ट्विन ओटर विमानको बेडा छ । थाम्सेरकु समूह अन्तर्गत सञ्चालित तारा एयरलाई लाक्पा सोनाम शेर्पा र स्वर्गीय आङ छिरिङ शेर्पाले प्रवर्द्धन गरेका थिए, जो नेपालका प्रसिद्ध पर्यटन व्यवसायी हुन् ।
हाल तारा एयरका अध्यक्ष लाक्पा सोनाम शेर्पा रहेका छन् भने चन्दा शेर्पा कार्यकारी निर्देशकको भूमिकामा छिन् । तारा एयरले ट्रंक रुटहरूमा उडान भर्ने आफ्नो सहायक संस्था येती एयरलाइन्स प्रालिबाट अलग भएर छुट्टै परिचालन सुरु गरेको हो ।
तारा एयरको भविष्यमा सुधारका लागि समयमै ऋण भुक्तानीको ट्र्याक रेकर्ड कायम गर्नु अति महत्त्वपूर्ण हुनेछ ।