किन गयो शेयर बजारमा पहिरो ? कसरी अघि बढ्ला आजबाट शेयर कारोबार ?

शेयर कर्नरिङ गरेर मूल्य घटाएको आशंका, विस्तृत अनुसन्धान जरुरी
२१ भाद्र २०७८, सोमबार १०:०३

काठमाडौं । नेपाली पुँजि बजारमा हिजोको दिन निकै नै दुखद रह्यो । शेयर बजार अनपेक्षित रुपमा उच्च अंकले गिरावट आउँदा १०८ अंकको गिरावट मात्रै आएन नकारात्मक सर्किट लाग्दा शेयर बजार निकै नराम्ररी प्रभावित भयो । आजबाट शेयर बजार कसरी अघि बढ्ला आम चासोको विषय बनेको छ ।

शेयर बजारमा हिजो विशाल पहिरो जानुपूर्व नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक निर्देशिकाले भूमिका खेलेकोछ । नियामक निकाय केन्द्रीय बैंकले मौद्रिक निर्देशिकामार्फत प्रतिव्यक्ति १२ करोड रुपैयाँ ऋणको सीमा तोकेपछि शेयर बजार प्रभावित भएको देखिन्छ ।

हिजो शेयर बजारमा गएको पहिरोले फेरि पनि नेपालको शेयर बजार आम सर्वसाधारणको हातमा नभई औलामा गन्न सकिने सीमित माफियाद्वारा सञ्चालित रहेको कुरा पुष्टि हुन आएको छ । नेपाल राष्ट्र बंकको तथ्याङ्क अनुसार कूल ७२० जना शेयर लगानीकर्ताले बैंकबाट ३५ अर्ब रुपैयाँ ऋण लिएका छन् । केन्द्रीय बैंकको तथ्याङ्क अनुसार सो ७२० जना लगानीकर्ताले कूल ८५ अर्ब रुपैयाँ ऋण लिन पाउने देखिन्छ । सो आधारमा हाल ३५ अर्ब मात्रै प्रवाह भएको ऋण लिन पाउने सुविधा अझै ५० अर्बभन्दा बढि बाँकी नै छ । यसको कारण समस्या देखिएको होइन ।

नेपालको शेयर बजार फेरि पनि औलामा गन्न सकिने केही सीमित पात्रहरुले चलाएको पुष्टि भएको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति अन्तर्गतको एकीकृत निर्देशिकाले जम्मा ११ जना लगानीकर्ता प्रभावित भएका छन् । तिनै ११ जना नेपाली शेयर बजारका मुख्य खेलाडी हुन् । उनीहरुले प्रतिव्यक्ति एक अर्बभन्दा बढि ऋण लिएका छन् । तिनै ११ जनालाई समस्या हुने भएपछि उनीहरुकै डिजाईनमा अहिले शेयर कर्नरिङ गरेर मूल्य घटाइएको हुनसक्छ । हिजोको केही फाइनान्स कम्पनीहरुको फ्लोरसिटको अध्ययन गर्दा समेत कर्नरिङको प्रयास भएको देखिएको छ । शेयर माफियाहरुले सानो भोल्युममा मूल्यय घटाएर वा बढाएर कारोबार गर्ने कार्यलाई शेयर कर्नरिङ भनिन्छ । हिजो प्रि ओपनिङ सेसनमै थुप्रै शेयर कर्नरिङ गरिएको देख्न सकिन्छ । कस कसले कुन कुन शेयर कर्नरिङ गरे भन्ने सम्बन्धमा विस्तृत अध्ययन पछि मात्रै यसै भयो भनेर भन्न सकिन्छ ।

११ जना शेयर माफियाहरुको स्वार्थको लागि उनीहरुले नै मिलेमतोमा ४० खर्बको शेयर बजार प्रभावित पार्न सक्छन् भने अब राज्य गम्भिर बन्नुपर्ने बेला आएको छ । अर्र्को कुरा शेयर माफियाहरुको कनेक्सन बैंकसँग देखिन्छ । बैंकहरुमा तरलता अभाव चर्को हुँदै जान थालेपछि बैंकहरुले ठूलो भोल्युममा शेयर भएकाहरुलाई बिक्री गर्न र तरलताको व्यवस्थापन गर्न पनि शेयरको मूल्य घटाइएको हुनसक्दछ । बैंकहरुले अदृष्य रुपमा धेरै नै पैसा शेयर बजारमा खन्याएपछि अहिले उक्त रकम फिर्ता लैजान खोज्दा पनि यस्तो समस्या आएको हुनसक्दछ । यसको पनि विस्तृत रुपमा अध्ययन गरिनु आवश्यक छ ।

 

नेपालको पुँजि बजार अब ठूला शेयर माफियाको हातमा मात्रै छैनन् । संगठित नहोलान् तर लाखौं मानिसले अर्बौ रुपैयाँ लगानी गरेको शयर बजार उनीहरुले बजार घटाएर मात्रै घट्छ भनियो भने अर्को भ्रम हुनसक्दछ । नवप्रवेशी लगानीकर्ताहरुले पुँजि बजार हामीले पनि धान्न सक्छौं, कति बिक्री गर्छौ आउ भनेर हिम्मत गर्ने समय आयो भने माफियाहरुको १२ बज्ने दिन टाढा छैन ।
शेयरको मूल्य घट्दा घाटा हुन्छ भन्ने सोच राख्नु लगानीकर्ताको अर्को गल्ती हो । शेयर बजार भनेकै कृत्तिम मूल्य हो । तर, त्यस्तो मूल्य खरिदकर्ता र बिक्रीकर्ताले निर्धारण गरेका हुन्छन् भन्ने कुरा भुल्नु हुँदैन । आज मूल्य घट्यो, यो मूल्य घट्नु भनेको नयाँ लगानी गर्ने अवसर पनि हो । सधैं मूल्य बढेको बढ्यै भइरह्यो भने शेयर बजार कहाँ पुग्ला अनुमान गरौं त ।

शेयर बजारमा लगानी गर्दा सबैं सचेत हुनु जरुरी छ । माफियाहरुका कारण घटाइएको शेयर बजारको पहिरो रोक्दै नयाँ उचाईमा लैजाने कि माफियाको डर र त्रासका कारण आत्तिएर पहिरोलाई महामारी बनाउने लगानीकर्ताकै हातमा छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*