गैर कानुनी रुपमा बीमा सेवा सञ्चालन गर्ने प्रभु बैंकमाथि कारवाही गर्न नियामक निकायको आनाकानी

२१ भाद्र २०७८, सोमबार ०७:०६

काठमाडौं । गैर कानुनी रुपमा बीमा सेवा सञ्चालन गर्दै आएको प्रभु बैंकमाथि कारवाही गर्न नियामक निकायहरुले आनाकानी गरेका छन् । बीमा क्षेत्रको नियामक निकाय बीमा समिति र बैंकिङ क्षेत्रको नियामक निकाय नेपला राष्ट्र बैंकले प्रभु बैंकको गैर कानुनी बीमा कारोबारबारे कारवाही गर्न आनाकानी गरेका हुन् ।

प्रभु बैंकले नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबारको लागि अनुमति लिएपनि बीमा कारोबारको लागि अनुमति लिएको छैन । प्रदेश नं २ सरकारले ‘बेटी बचाऊ, बेटी पढाऊ’ कार्यक्रम अन्तर्गत गरिएको छोरीहरुको बीमा प्रभु बैंकमार्फत सञ्चालन हुँदै आएको छ । गैर कानुनी रुपमा बीमा सेवा सञ्चालन गर्दै आएको प्रभु बैंकले भने मुद्दति निक्षेपमा रकम राखेर प्रदेश नं २ का छोरीहरुको सुरक्षण मात्रै गरिएको दावी गर्दै आएको छ । सो सम्बन्धमा बैंकका सिईओ अशोक शेरचनले कुनै प्रतिक्रिया दिन चाहेनन् ।

महालेखाको कार्यालयले केही समयअघि सार्वजनिक गरेको ५८ औं बार्षिक प्रतिवेदनमा समेत प्रभु बैंकले सञ्चालन गर्दै आएको छोरी बीमा कार्यक्रमबारे प्रश्न उठाइसकेको छ । महालेखाले प्रदेश नं २ सरकारले भुक्तानी गरेको १५ करोडभन्दा बढि रुपैयाँको लगानी सुनिश्चत नभएको निष्कर्ष निकालिसकेको छ ।

महालेखाको प्रतिवेदनले औल्याएको, बैंकको लाइसेन्स लिएर बीमा सेवा सञ्चालन गर्दै आएको प्रभुु बैंकमाथि कारवाही गर्न नेपाल राष्ट्र बैंकले समेत आलटाल गरेको छ । केन्द्रीय बैंकले सो सम्बन्धमा आवश्यक जानकारी संकलन गर्ने काम भइरहेको बताएको छ । उता, अर्को नियामक निकाय बीमा समितिले ऐनको अभावमा के कारवाही गर्ने भन्नेमै अल्झिएको सूत्रहरुले जनाएका छन् । बीमा ऐन २०४९ मा अनुमति नलिई बीमा व्यवसाय गर्न नपाउने उल्लेख भएपनि त्यस्तो व्यवसाय गरेको अवस्थामा के कारवाही हुन्छ भन्ने व्यवस्था छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*