ताप्लेजुङमा केवलकार बनाउन माफियासँग सरकारकै सेटिङ, प्रधानमन्त्री ओलीमाथि गम्भिर नैतिक प्रश्न ?
काठमाडौं । ताप्लेजुङमा विवादित केवलकार निर्माणको लागि सरकारले नै माफियासँग सेटिङ गरेपछि स्थानीय जनता दुई भागमा विभाजित हुन पुगेका छन् । जसको परिणाम आज दुई पक्षबीच झडप भई अप्रिय अवस्था सिर्जना हुन पुगेको छ ।
शुक्रबार ताप्लेजुङ सदरमुकाम फुङलिङ केही माथि तल्लोफेदी (भालुगौडे) मा केवलकारको लागि स्टेशन बनाउन बल प्रयोग गर्दै जिल्लामा रहेका सिंगो एमालेका पंक्तिहरु उक्त स्थानमा पुगेका थिए । स्थानीय आदिबासीहरुले किराँतहरुको पवित्र धार्मिक स्थलमा व्यापार गर्ने कार्य स्वीकार्य नहुने भन्दै केही वर्षदेखि गर्दै आएको विरोधलाई दमन गर्दै सरकारले आज शिलान्यासको प्रयास गरेको थियो । आज नेकपा एमालेले सरकारको राज्यशक्तिको दुरुपयोग गर्दै जबरजस्ती शिलान्यास गर्न खोजेको थियो । तर, स्थानीय पहिचानबादीहरुले दह्रो दनक दिएपछि सरकार र केवलकार बनाउने माफियाको गिरोह दुवै पछाडि हटेका छन् ।
एक निजि कम्पनीले सीमित व्यापारिक घरानाका फाइदाको लागि बनाउन लागेको पाथिभरा मन्दिरको केवलकारमा सिंगो राज्यसत्ता र सत्ताधारी एमाले पार्टीको लज्जास्पद सहभागिताले सिंगो देश पार्टीहरु माफियाको कब्जामा पुगेको अनुभूति दिलाएको छ । करिब तीन अर्ब लागतमा ताप्लेजुङको तल्लोफेदिबाट पाथिभराको मन्दिर नजिकैसम्म २.७४ किमी लामो केवलकार निर्माणको लागि पाथिभरा दर्शन केवलकार प्रा.लिले निर्माणको अनुमति पाएकोे छ । सो कम्पनीमा नेपालका प्रतिष्ठित व्यापारीहरुको समुहको मुख्य लगानी रहेको छ ।
शुक्रबार नेकपा एमालेका ताप्लेजुङ जिल्ला अध्यक्ष डम्बरध्वज तुम्बाहाम्फेको नेतृत्वमा करिब ३०० जति एमाले कार्यकर्ता लिएर शिलान्यास हुने स्थानमा पुगेका थिए । फुङलिङ नगरपालिकाका मेयर अमिर मादेनले शिलान्यास गर्ने कार्यतालिका रहेको थियो । पुजाआजा गरिसकेर स्काभेटर अघि बढाउन खोज्ने वित्तिकै विरोधी समुहले सशक्त प्रतिवाद गरेका थिए । दोहोरो भिडन्तमा तीन जना गम्भिर घाइते भएका छन् भने अन्य थुप्रै घाइते भएका छन् । आज गर्न खोजिएको शिलान्यास कार्यक्रममा प्रधानमन्त्री केपी ओलीको दल नेकपा एमालेले सिंगो पार्टी परिचालन गरेको खुलेको छ । मेयर मादेनले शिलान्यास कार्यक्रम बिथोल्न नदिन करिब ३००।४०० जना मानिसहरु केवलकारको समर्थनमा घटनास्थलमा पुगेको स्वीकार गरे । मेयर मादेन समेत आजको शिलान्यास कार्यक्रम जसरी पनि सफल बनाउन लागि परेका थिए । मेयर मादेनले टाउकोमा कफन बाँधेर आएका पहिचान पक्षधरहरुर्लाइ पक्राउ गर्न निर्देशन दिएकोमा सफल भएको थिएन ।
File Photo
एक निजि माफियाको कम्पनीले ताप्लेजुङको पाथिभरामा केवलकार बनाउन खोजिरहेको छ । सोका लागि ठेक्का समेत दिइसकेको छ । विगत करिब १० वर्षदेखि बनाउन खोजिएको ताप्लेजुङस्थित पाथिभरा मन्दिरको केवलकार निर्माणमा घोटाला गर्ने माफियाहरुको विभिन्न कारणले निधन भइसकेको छ । ताप्लेजुङको पाथिभारामा निर्माण हुन लागेको केवलकारमा प्रधानमन्त्री केपी ओली पनि जोडिएका छन् । फुङलिङ नगरपालिकाका मेयर अमिर मादेनका अनुसार उक्त केवलकारको औपचारिक शिलान्यास गर्न प्रधानमन्त्री केपी ओली नै आउने कार्यक्रम रहेको समेत खुलासा गरेका छन् । प्रधानमन्त्री पदमा नियुक्त हुने वित्तिकै नक्सालमा रहेको एक कालोधनका व्यापारीको होटल उद्घाटन गरेर विवादमा तानिएका केपी ओली पाथिभरामा निर्माण हुन लागेको केवलकार जसरी पनि निर्माण गराउन सिंगो राज्यशक्ति लगाएर बल गरिरहेको स्रोतको दावी छ ।
त्यसो त प्रधानमन्त्री केपी शर्मा ओली पाथिभरा मन्दिरमा यसपटक मात्रै जोडिएका होइनन् । यसअघिका केपी ओलीका स्वकीय सचिव पुष्प बहादुर बरुवाललाई पाथिभरा क्षेत्र विकास समितिको अध्यक्ष बनाइएको थियो । पाथिभरा क्षेत्र विकास समितिका अध्यक्ष भएको बेला प्रम ओलीका पूर्व स्वकीय सचिव बरुवालले करोडौं रुपैयाँ घोटाला गरेर अमेरिका पुगेका थिए । उनको कोरोना संक्रमणका कारण २०७८ साल जेठ तेस्रो साता निधन भइसकेको छ । तत्कालिन अध्यक्ष बरुवालले पाथिभरामा केवलकार बनाउन लागेका पाथिभरादेवी दर्शन केवलकार प्रा.लि. नामक कम्पनीलाई हाल स्टेशन बनाउन लागिएको तल्लो फेदीमा रहेको २९ रोपनी जग्गा अस्वाभाविक मूल्यमा बिक्री गरेर २६ करोड (मालपोतमा देखिने रकम नदिने खास रकम ५० करोड) रुपैयाँ हात पारेका थिए ।
२०७६ सालमा घटाइएको सो काण्डको दुई वर्षपछि बरुवालको निधनभएको थियो । त्यस्तै, केवलकार बनाउने भन्दै दौडधुप गरिरहेका यति एयरका मालिकको समेत पाथिभरामै हेलिकोप्टर दुघर्टनामा निधन भइसकेको छ । अहिले अर्कै माफियाले पाथिभरामा केवलकार बनाउने भन्दै सरकारको फेरो समातेर सेटिङ गरिरहेको छ । सिंगो एमाले अहिले माफियासँग मिलेर पाथिभराको मन्दिरमा आदिबासीसँग राजनीति गर्न गएको छ । स्मरणरहोस्, एमालेले गत दशैंमा मात्रै पार्टी कार्यालय बनाउने भन्दै एक माफियासँग एक अर्ब रुपैयाँ जति मूल्य पर्ने १० रोपनी जग्गा दानमा लिएर शिलान्यास गरेकोमा सर्वोच्चको अल्पकालिन अन्तरिम आदेशद्वारा रोकिएको अवस्था छ ।
मालपोत कार्यालय ताप्लेजुङको रेकर्ड अनुसार बरुवाल र अर्का सुरेन्द्र गुरुङ नाम गरेका दुई व्यक्तिले तल्लोपाटीको २९ रोपनी जग्गा बिक्री गरी केवलकार बनाउने कम्पनीसँग २६ करोड रुपैयाँ बुझेका थिए । सो २९ रोपनी जग्गाको कारोबार बापत दुई करोड ३४ लाख ७७ हजार रुपैयाँ राजश्व तिरिएको थियो भने पुँजिगत लाभकर बापत मात्रै एक करोड चार लाख ४० हजार रुपैयाँ तिरेका थिए । सो काण्डपछि बरुवाल नेपाल बस्ने अवस्था रहेन । करोडौं रुपैयाँ घोटालामा फसेका बरुवाल प्रधानमन्त्री केपी ओलीका पूर्व स्वकीय सचिव भएर काम गरेका थिए । उतिबेला देखि नै पाथिभरामा केवलकार बनाउने सेटिङमा प्रधानमन्त्री केपी ओलीको मौन समर्थन रहेको आरोप स्थानीयबासीको छ ।
पाथिभरामा केवलकार बनाउने विषयमा सुरुवातदेखि नै आजसम्म एमालेको प्रत्यक्ष संलग्नता रहँदै आएकोले अहिले एमालेका नेताहरु ताप्लेजुङ जान सक्ने अवस्था समेत छैन । त्यहाँका प्रत्यक्ष निर्वाचित सांसद योगेश भट्टराई समेत भागीभागी सदरमुकाम पुगेपनि आक्रमणमा पर्दै आएका छन् ।
जब जब केपी ओली सत्तामा आउँछन्, तब तब पाथिभरा मन्दिरमा केवलकार बनाउने एजेण्डा ह्वात्तै अघि बढ्ने गरेको छ । नेपाली कांग्रेसको समर्थनमा अहिले तेस्रो पटक ओली प्रधानमन्त्रीमा पदमा रहेका छन् । अहिले फेरि प्रधानमन्त्री ओलीले पाथिभरा केवलकारको शिलान्यास गर्न खोजिरहेका छन् । पाथिभरामा निर्माण हुने भनिएको केवलकारका लागि सरकारले ४.९७ हेक्टर वनक्षेत्र दिने निर्णय गरिसकेको छ । कंचनजंगा संरक्षण क्षेत्रमा पर्ने सो स्थानमा त्यसरी वनक्षेत्र निजि कम्पनीलाई दिने निर्णय आफैमा विवादित छ । दैनिक हजारौं भक्तजन अहिले हिडेर पाथिभरा मन्दिरमा पुगिरहेका छन् । केवलकार निर्माण भएसँगै उक्त कम्पनीले दैनिक लाखौं रुपैयाँ र बार्षिक दुई अर्बभन्दा बढि आम्दानी गर्ने अनुमान गरिएको छ ।
२०७८ साल बैशाख ११ गते तत्कालिन प्रधानमन्त्री केपी ओलीबाटै पाथिभरा मन्दिरमा निर्माण हुन लागेको केवलकारको सिलान्यास गर्ने मिति समेत तय भएको थियो । सो समयमा विविध कारण र स्थानीयबासीले चर्को विरोधपछि रोकिएको थियो । अहिले प्रम ओली फेरि शिलान्यास गर्ने प्रयासमा छन् ।
आज पनि जसरी भएपछि तल्लोफेदीमा रहेको स्टेशनको शिलान्यास गरेरै छोड्ने योजना बनाएर कार्यक्रम आयोजना गरिएको त्यहाँका मेयर मादेनले स्वीकार गरे । बीमापोष्टसँग संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘पाथिभरा हाम्रो नगरपालिकामा पर्छ, यहाँका ९९ प्रतिशत जनता केवलकार बनाउनुपर्दछ भन्ने पक्षमा छन्, निर्माण गर्ने ठेकेदारले धुपबालेर पुजा गर्ने र शिलान्यास गर्नुपर्यो भनेर बोलाएपछि गएको हो ।
File Photo
जनतालाई चाहिने विकास निर्माणमा सहयोग गर्नु होम्रो दायित्व हो, त्यसैले म पनि गएको हो ।’ स्थानीय जनताको विरोध हुँदा हुँदै पनि मेयर मादेन एमालेलाई साथ दिँदै शिलान्यास कार्यक्रममा पुगेका थिए । तर, मेयर मादेनले भने, एमाले मात्रै नभएर कांग्रेस, एमाले, माओवादी सबै दलले पाथिभरामा केवलकार बनाउने पक्षमा रहेको र केही पहिचानवादीहरुले विरोध गरेको आरोप लगाएका छन् ।
उनले पाथिभरामा कुनै पनि हालतमा केवलकार बन्ने दावी गर्दै सिडिओ र प्रहरीले साथ नदिएकोले आजको योजना सफल नभएको बताए । उनले भने, ‘५।७ जना पहिचानवादीहरुलाई पक्राउ गरेर योजना सफल पार्नुपर्नेमा सिडिओले नै असहयोग गरे ।’ उनले विरोधीहरुलाई दमन गरेरै भएपनि निजि कम्पनीले बनाउन लागेको केवलकार सफल पार्नुपर्नेमा प्रहरीले समेत सहयोग नगरेको आरोप लगाए ।
उता, ऐतिहासिक पाथिभरा देवीको मन्दिरमा व्यापारिक समुहले निर्माण गर्न लागेको केवलकारका लागि विगतदेखि आजसम्म खेलेको भूमिकालाई लिएर प्रधानमन्त्री केपी ओलीमाथि गम्भिर नैतिक प्रश्न उठेको छ । भ्रष्टाचारका विरुद्धमा शून्य सहनशिलता अपनाएको बताउने प्रधानमन्त्री ओलीकै पालामा पाथिभरा मन्दिरमा निर्माण हुन लागेको केवलकारमा दमनसहित जबरजस्ती अघि बढाउन खोजेको घटनाको जवाफ कसले दिने ?