सर्वोच्चको न्यायाधीशमा नृपध्वज निरौला र नित्यानन्द पाण्डेय अनुमोदित
काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस नृपध्वज निरौला र नित्यानन्द पाण्डेय संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएका छन् । समितिका जेष्ठ सदस्य पशुपतिशमशेर जबराको सभापतित्वमा शुक्रबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डेयलाई अनुमोदन गरेको हो ।
न्याय परिषद्को असोज ११ को बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश निरौला र उच्च अदालत दाङ तुलसीपुर इजलासका मुख्य न्यायाधीश पाण्डेयलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो ।
दुवै न्यायाधीशले स्वतन्त्र, निष्पक्ष, छरितो र गुणस्तरीय न्यायसम्पादन नै न्यायाधीशको मुख्य कार्यभार एवं दायित्व हुने र सोहीअनुसार आफूले काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
स्वतन्त्र, निष्पक्ष एवं सक्षम न्यायपालिकाको मूल्य मान्यतालाई आत्मसात् गर्दै सविधान, कानुन र न्यायका मान्य सिद्धान्तसमेतका आधारमा न्यायिक सम्पादन गर्ने उनीहरूको प्रतिबद्धता थियो ।