बुक विल्डिङमा आईपीओ खोल्न न्यायालयसम्मै सेटिङ्, रिलायन्सविरुद्धको रिट खारेज
काठमाडौं । बुक विल्डिङमार्फत सर्वसाधारणका लागि शेयर जारी गर्न लागेको रिलायन्स स्पिनिङ मिल्स लिमिटेडलाई प्रिमियम मूल्यमा साधारण शेयर निष्कासन गर्न उच्च अदालतले बाटो खोलिदिएको छ । यद्यपि, यसका लागि रिलायन्सले न्यायालयसम्म सेटिङ गर्न भ्याएको आशंका गरिएको छ ।
महँगो र अस्वाभाविक मूल्यमा सेयर जारी गर्न लागेको भन्दै सो कम्पनीको शेयर विक्रीमा रोक लगाउन माग गर्दै परेको रिट बुधबार उच्च अदालत पाटनले खारेज गरिदिएको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले समेतले यो प्रकरणमा अध्ययन गरेर शेयर निष्कासन गर्न कुनै समस्या नरहेको भनी राय दिएकामा उच्च अदालत पाटनले गएको असार २६ मा कारण देखाउ आदेश जारी गर्दै आईपीओ निष्कासन प्रक्रिया रोक्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।
तर, अहिले उच्चले रिट नै खारेज गरिदिएको छ । नेपाल धितोपत्र बोर्डमा नयाँ अध्यक्ष नभएको अवस्थामा रिलायन्ससहित अन्य कम्पनीहरु प्रिमियम मूल्यमा शेयर निष्कासन अनुमतिको पखाईमा छन् ।
रिलायन्स स्पिनिङ मिल्सका निर्देशक शशिकान्त अग्रवालले अदालतको आदेश अनुरूप अब नियामक धितोपत्र बोर्डले प्रक्रिया अघि बढाउन चासो देखाउनु पर्ने प्रतिक्रिया दिएका छन् । रिलायन्सले विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरिसकेको छ ।