आजदेखि काठमाडौं विमानस्थल दैनिक १० घन्टा बन्द
काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टासम्म बन्द हुने भएको छ। विमानस्थलको धावनमार्ग, ट्याक्सी वे र पार्किङ सुविधा समेतको स्तरोन्नतिका लागि २३ कात्तिकदेखि १८ चैतसम्म विमानस्थल राति १० बजेबाट बिहान ८ बजेसम्म बन्द गरिने भएको हो।
धावनमार्गको विस्तार र नयाँ ट्याक्सी वे निर्माणका साथै एप्रोनको स्तरोन्नतिको काम अन्तर्गत १५ अर्ब रुपैयाँ लागतमा तीनवटा विदेशी निर्माण व्यवसायीहरू जुटेका छन्। यसमा ४ वटा ट्याक्सी वेको पुनर्निर्माण र नयाँ एप्रोनसँग जोड्ने काम पनि समावेश छ।
यी निर्माण कार्यका कारण रात्रीकालीन उडान बन्द हुने भएपछि वायुसेवा कम्पनीहरूले आफ्नो उडान तालिका हेरफेर गरेका छन्।
विमानस्थलको सुधारपछि यात्रुहरूको आवागमन र ट्राफिक व्यवस्थापनमा थप सुधार आउने विमानस्थलले जनाएको छ। अरुदिन विमानस्थल बिहान ६ बजेदेखि राति २ बजेसम्म सञ्चालनमा आउने गरेको थियो।