आज छठ पर्व मनाइँदै
काठमाडौं । आज कात्तिक २२ गते नेपालमा छठ पर्व धुमधामका साथ मनाइँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन मनाइने यो पर्व सूर्य भगवानको उपासना गरेर मनाइँने गरिन्छ । आजको दिन श्रद्धालुहरूले आफ्नो आस्था, समर्पण र सादगीपूर्वक परम्परागत विधिबाट सूर्य देवको पूजाआराधना गर्छन्।
यस पर्वमा भक्तजनहरू व्रत बस्दै, कठोर उपवास राख्दै र निष्ठापूर्वक कात्तिक शुक्ल षष्ठीका दिन साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिने परम्परा अनुसरण गर्छन्। विशेषगरी तराई क्षेत्रमा यो पर्वका लागि विशाल सरोवर, नदी र पोखरीहरू सजाइएका हुन्छन् ।
यसको पहिलो दिनलाई अरबा अथवा नहाई खाय भनिन्छ । त्यस्तै, दोस्रो दिनलाई खर्ना, तेस्रो दिनलाई सँझिया अर्घ्य अर्थात् छठ भनिन्छ । कार्तिक शुक्ल चतुर्थीबाट सुरु भएको यो पर्वको तेस्रो दिन छठ अर्थात् षष्ठी हो । यसको अन्तिम दिन अर्थात् चौथो दिनलाई विहनिया अर्घ्य पारण भनिन्छ ।
यसको तेस्रो दिन अर्थात् सँझिया घाटको दिन साँझमा व्रतालुहरू सजाइएका खोला, नदी, तलाउ अथवा जलाशयको पानीमा आधा डुबेर अस्ताउन लागेको सूर्यलाई दूधको अर्घ्य दिने गर्छन् । अनि चौथो दिनको बिहान सूर्य उदाउनुअघि नै छठ घाटमा पुगेर उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएर व्रतको समापन गर्ने चलन छ ।
आज छठ पर्वको अवसरमा सरकारले देशभर सार्वजनिक विदा दिएको छ । यससँगै आज बैक तथा वित्तीय संस्था, शैक्षिक संस्था, सरकारी कार्यालय लगायत नेप्से समेत बन्द रहनेछ ।