११ लाखले भरे समता घरेलु लघुवित्तको एफपिओ, भोलि आवेदन दिने अन्तिम दिन
काठमाडौं । समता घरेलु लघुवित्तको एफपिओमा आवेदन दिने भोलि अर्थात् कात्तिक २० गते अन्तिम दिन रहेको छ । कम्पनीले ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका दरले ३ लाख ५० हजार ९०४.२५ हकप्रद शेयर बिक्री खुला गरेको हो ।
हालसम्म कम्पनीको एफपिओमा २ अर्ब ७० करोड ९३ लाख ४६ हजार रुपैयाँको आवेदन परेको छ । सिडिएसका अनुसार आज (कात्तिक १८ गते) बिहान १०ः०६ बजेसम्ममा ११ लाख २७ हजार १२१ जनाले १ करोड ७० लाख ९३ हजार ४६० कित्ताका लागि आवेदन दिएका हुन् । जुन मागभन्दा ४८.७१ गुणाले बढी आवेदन हो ।
साबिकको मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति गरेपछि प्रबन्धपत्रमा भएको व्यवस्था बमोजिम शेयर पूँजी संरचना अनुपात ६९.४८ प्रतिशत संस्थापकको र ३०.५२ सर्वसाधारणको कायम गर्न अपुग पूँजी पुर्याउन हकप्रद निष्काशन गरेको हो ।
आवेदन दिँदा घटीमा १० कित्ता र बढीमा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेका सम्पूर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो शेयर अनलाइन मार्फत आवेदन दिन सकिनेछ । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ ।
एफपीओ निष्काशनका लागि गराएको रेटिङमा इक्रा नेपालले इक्राएनपी इस्यूअर रेटिङ डबल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ ।