वित्तीय रुपमा ध्वस्त बन्दै एनसेल, पार्टीहरुले अर्बौ रुपैयाँ भुक्तानी पाएनन्, घरभाडादेखि निर्माणसम्मको बक्यौता ३० अर्ब

१९ कार्तिक २०८१, सोमबार ०९:५२

काठमाडौं । गत भदौंको दोस्रो साता एक अर्ब रुपैयाँ ऋणको खोजीमा निस्केको एनसेलको टोलीले आधा दर्जन बैंक चहार्दा समेत कुनै बैंकबाट उक्त ऋण पत्याइएन । भदौं १५ गतेसम्म पाँच अर्ब रुपैयाँ नतिरे लाइसेन्स सिज हुने अवस्थामा पनि एक अर्ब रुपैयाँ ऋणका लागि निकै ठूलो मेहनत मात्रै होइन, राजनीतिक सेटिङ गरेर एउटा बैंकमार्फत दिलाइएको थियो ।

वित्तीय अवस्था खस्किदै गएसँगै एनसेलको ब्यालेन्स अफ पेमेन्ट बिग्रदै गएको छ । जसको प्रत्यक्ष असर नेपालका विभिन्न पार्टीहरुलाई परिरहेको छ । विश्वस्त स्रोतका अनुसार एनसेलबाट नेपालका विभिन्न पक्षहरुले करिब ३० अर्ब रुपैयाँ भुक्तानी पाउन बाँकी छ । सो भित्र बिज्ञापन बापतको भुक्तानी समेत पर्दछ । एनसेलसँग काम गरेको विभिन्न पार्टीहरुले दशैं र तिहारको बेलामा समेत एनसेलबाट भुक्तानी पाउन सकेनन् । केहीले सानो सानो रकम पाए पनि धेरैले रकम नपाएको बताइएको छ ।

पछिल्लो पटकको वित्तीय अवस्था अनुसार एनसेलको कूल सम्पत्ति र कूल दायित्व बराबरी अवस्थामा पुगेको छ । जसको कारण एनसेलबाट भुक्तानी पाउनुपर्ने नेपालका सप्लायर्स, टावर राखेबापतको घर भाडा, अप्टिकल फाइबर निर्माणबापतको भुक्तानी प्रभावित हुन पुगेको छ । वित्तीय रुपमा टाट पल्टिदै गएको एनसेलको विवादास्पद शेयर कारोबारसँग सतिशलाल आचार्यले सम्हाल्ने प्रयास गरिरहेका छन् । वित्तीय रुपमा टाट उल्टिन लागेको एनसेललाई आचार्यले कौडीको भाउ (पाँच अर्ब) मा किनिसकेका छन् । अहिले मलेसियास्थित आजिएटा एनसेलबाट बाहिरिसकेको छ ।

एनसेलबाट ठूलो रकम भुक्तानी रोकिएपछि आगामी दिनमा एनसेलसँग काम गर्ने कि नगर्ने भनेर विभिन्न फर्महरु अन्योलमा परेका छन् । कर्मचारी सप्लायर्सदेखि विभिन्न काम बापतको भुक्तानी बाँकी छ । त्यस्तै, ब्राण्डिङको पनि ठूलो रकम भुक्तानी बक्यौता रहेको जनाइएको छ ।

पार्टीहरुको विश्वास नै गुम्ने गरी दशैं र तिहारमा समेत भुक्तानी दिन नसकेपछि एनसेलको क्रेडिट बजारमा धेरै नै नराम्रो हुन पुगेको छ । पछिल्लो समय असोज मसान्तसम्ममा बैंकमा बुझाउनुपर्ने ठूलो रकम किस्ता तिर्नु परेकोले नेपालस्थित पार्टीहरुको भुक्तानी रोकिएको अनुमान गरिएको छ ।

आव २०७८।०७९ को लेखापरिक्षण प्रतिवेदन अनुसार एनसेलले नेपालका विभिन्न पार्टीहरुलाई २६ अर्ब रुपैयाँ भन्दा बढि भुक्तानी गर्नुपर्ने दायित्व बक्यौता रहेको थियो । अहिले सो रकम बढेर ३० अर्ब नाघिसकेको छ । यस अबधीमा कम्पनीले करिब दुई हजार टावर थप गरेको थियो । यस बापत पनि ठूलो दायित्व थपिएको छ । कम्पनीको पछिल्लो अवस्था अनुसार कूल दायित्व ६० अर्ब हाराहारी पुगिसकेको अनुमान छ । त्यस्तै कम्पनीसँग कूल सम्पत्ति ५२ अर्ब हाराहारी मात्रै छ । कम्पनीले अवधी सकिन लागेको लाइसेन्सलाई ब्राण्ड भ्यालू भनेर अर्बौ रुपैयाँ देखाएर कृत्तिम रुपमा कूल सम्पत्ति ७० अर्ब जति देखाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*