बिराटनगर र डडेल्धुरामा तास खेल्ने ४५ जना पक्राउ
काठमाडौं । तिहारको समयमा जुवा तास खेलेको भन्दै प्रहरीले पक्राउ गर्ने क्रम तीव्र पारेकोछ । यसै क्रममा मोरङ जिल्लाको बिराटनगर महानगरपालिका १७ दरैयामा जुवातास खेलिरहेको अवस्थामा १७ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बिराटनगर महानगरपालिका १६ बस्ने ३५ वर्षीय हरेराम चौधरी समेत १७ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६० हजार रूपैयाँ र २ बुक सहित पक्राउ गरेको प्रहरीबाट प्राप्त सूचनामा जनाइएको छ । तर, १७ जना जुवाडेबाट जम्मा ६० हजार रुपैयाँ मात्रै नगद बरामद गरिएको तथ्यले भने शंका उत्पन्न गरेको छ । घटनामा प्रहरीको भूमिका समेत शंकास्पद देखिएको छ ।
उता, डडेल्धुरा, गन्यापधुरा गाउँपालिका ३ गोयलखेत बस्ने ३२ वर्षीय दिपक देउवाको घरमा जुवातास खेलिरहेको अवस्थामा २८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले जुवा खेलाउने कार्यमा संलग्न दिपक समेत २८ जनालाई गए राति प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ४१ हजार ८ सय ६९ रूपैयाँ र १६ बुक तास सहित पक्राउ गरेको जनाएको छ ।