सर्वोत्तम सिमेन्टको वित्तीय अवस्थामा उतारचढावः व्यापार माथि उठ्नै सकस, कर्जाको बोझ र प्रतिस्पर्धात्मक दबाब

१६ कार्तिक २०८१, शुक्रबार १३:३८

काठमाडौँ । सर्वोत्तम सिमेन्ट लिमिटेडले पछिल्लो वर्ष उल्लेखनीय व्यापार खुम्चिएको देखाएको छ । कम्पनीको व्यापार आँकडाले नेपाली सिमेन्ट बजारमा भएको कट्टर प्रतिस्पर्धा र बजारमा कायम रहेको मूल्य दबाबले ठूलो असर परेको हो ।

इक्रा नेपालले कम्पनीको क्रेडिट रेटिङ पुनः मूल्यांकन गर्दै यसलाई [ICRANP-IR] BBB@ (ट्रिपल बी) मा कायम राखेको छ । लामो र छोटो अवधिको बैंक कर्जाको रेटिङलाई क्रमशः [ICRANP] LBBB@ (लङ टर्म) र [ICRANP] A3+@ (सर्ट टर्म) दिइएको छ। यी रेटिङहरू अझै पनि ‘नेगेटिभ इम्प्लिकेशन’ अन्तर्गत छन्, जसले कम्पनीको स्थायित्वलाई थप चुनौती दिने बताइएको छ।

सर्वोत्तम सिमेन्टले आर्थिक वर्ष २०२४ मा करिब ६ अर्ब ४१ करोड ९० लाख रुपैयाँको व्यापार गरेको जनाएको छ । कम्पनीले सन् २०२३ को ५ अर्ब ३९ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो । तर, सन् २०२० मा ७ अर्ब ३७ करोड ५० लाख, सन् २०२१ मा ८ अर्ब ९५ करोड र सन् २०२२ मा ७ अर्ब ७८ करोड ७० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले पछिल्लो समय भने स्थिर र कमजोर प्रदर्शन देखाएको हो ।

विगतका वर्षहरूमा कम्पनीको सञ्चालन नाफा मार्जिन २०२० मा २७ प्रतिशत रहेकोमा हाल २०२४ मा यो घटेर १२ प्रतिशतमा आइपुगेको छ । यो गिरावटले कम्पनीको आम्दानी र व्यावसायिक रणनीतिमा गम्भीर चुनौती उत्पन्न गराएको देखाएको हो । स्थिरभन्दा पनि गिरावटोन्मुख व्यापार दरले कम्पनीको सञ्चालन खर्चलाई भार पारेको र यसले नाफाको प्रतिशत घटाएको इक्रा नेपालले विश्लेषणमा उल्लेख गरेको छ ।

यस्तै, कम्पनीको रिटर्न अन क्यापिटल इम्प्लोयड पनि उल्लेखनीय रूपमा घटेको छ । २०२० मा १६ प्रतिशत रहेको यो सूचक हाल ५ प्रतिशतमा झरेको छ, जसले सिमेन्ट बजारमा गरेको ठूलो लगानीको अपेक्षित प्रतिफल नआएको संकेत गरेको छ । नाफाको कमीमा सिमेन्ट बजारको मागमा भएको गिरावट र निर्माण क्षेत्रमा आएको सुस्त गतिले प्रमुख भूमिका खेलेको अनुमान गरिएको छ ।

कर्जाको बोझ र सञ्चयमा कमी

सर्वोत्तम सिमेन्टको कुल कर्जा/ट्याङ्गिबल नेट–वर्थ अनुपातमा केही सुधार भए पनि कम्पनीले काम गरिरहेको उद्योगमा उत्पन्न गरिएको उच्च कर्जा स्तरले कम्पनीलाई दीर्घकालीन रूपमा प्रभावित गरिरहेको छ । २०२० मा जसरी कर्जा लिएको थियो, त्यसलाई २०२४ मा केही सुधार ल्याएर न्यून गरेको भए पनि यो अझै पनि संस्थाको वित्तीय स्वास्थ्यका लागि पूर्ण रूपमा फाइदाजनक भएको छैन ।

कम्पनीको कर्जा र वित्तीय भारलाई हलुका पार्न गरेको प्रयासको बाबजुद पनि कुल देनदारिहरूमा आएको कमीलाई पर्याप्त मान्न सकिने स्थितिमा छैन । कर्जाको खपत घटाउन सर्वेत्तमले आफ्नो आईपीओबाट उठाएको २ अर्ब २६२ मिलियन रुपैयाँलाई आंशिक रूपमा कर्जा घटाउनेतर्फ उपयोग गरेको देखिएको हो । तर, यथेष्ठ रकम संरक्षित गरी भविष्यमा कारोबारलाई सुदृढ बनाउन नसक्नुले कम्पनीको सन्तुलित तरलता व्यवस्थापनमा प्रभाव पारेको छ ।

कडा प्रतिस्पर्धा र जोखिम

नेपालको सिमेन्ट उद्योगमा पनि ठूला खेलाडीहरू बीचको प्रतिस्पर्धाले मूल्य दबाब सिर्जना गरेको छ । बजारमा उपलब्ध मागको तुलनामा आपूर्तिको मात्रा उच्च हुँदा मूल्य प्रतिस्पर्धा गहन हुन पुगेको छ, जसले सिमेन्ट कम्पनीहरूको नाफा घटाइरहेको छ । सर्वोत्तम सिमेन्टले निर्माण उद्योगको निरन्तर रूपले चढ्दै गएको मूल्य दबाब र घट्दो आम्दानीलाई व्यवस्थापन गर्न कठिनाइ भोगिरहेको छ ।

कम्पनीका लागि अर्को जोखिम नेपाल सरकारको नीति र नियमहरूको परिवर्तनको सम्भावना हो । सिमेन्ट उत्पादनमा कच्चा पदार्थको अभाव, यसको मूल्य वृद्धि र कर प्रणालीको अन्योलता झेल्नुपर्ने हुँदा कम्पनीको नाफामा असर पर्ने देखिएको इक्रा नेपालले भनेको छ । कम्पनीले आफ्नो उत्पादन लागतलाई नियन्त्रित राख्ने र वित्तीय सूचकहरूलाई उच्च राख्न ठोस कदम चाल्नुपर्ने आवश्यकता रहेको सुझाव समेत प्रतिवेदनमा दिएको छ ।

उद्योगको अन्योलता र व्यवसायिक रणनीतिमा सुधारको अपेक्षा

सिमेन्ट उद्योगमा कायम रहेको आर्थिक चक्र र मौसमी मागले पनि कम्पनीको व्यवसायमा अन्योलता सिर्जना गरेको छ । मन्दीको समय र निर्माण सामग्रीको मूल्यवृद्धिले व्यवसायलाई असर पारेको अवस्थामा सर्वोत्तम सिमेन्टले आफ्नो व्यवस्थापन क्षमता र रणनीति फेरबदल गर्नुपर्ने देखिएको छ ।

हालैका वर्षहरूमा सिमेन्ट उत्पादन उद्योगले औद्योगिक संरचनाको पुनःनिर्माणका लागि डिजिटल परिवर्तन तथा न्यून–लागत प्रविधिको प्रयोगमा जोड दिन थालेको छ । तर, यस्तो प्रविधिको कार्यान्वयन गर्न सर्वोत्तमले आफ्ना उत्पादन प्रक्रियामा आवश्यक सुधार ल्याउनुपर्ने देखिएको हो । कम्पनीको बिक्री आपूर्तिलाई बलियो बनाउन र समग्र बजारमा बिस्तार गर्न सघाउने रणनीतिक कदम चाल्नुपर्ने देखिएको छ ।

सञ्चय जोखिम र लाभांशको उच्च वितरण दर

कम्पनीको तरलता स्थिति सन्तोषजनक रहेको छैन । २०२४ मा कम्पनीको कुल कार्यशील पूँजीलाई आम्दानी अनुपातमा करीब ५८ प्रतिशत पु¥याएको देखिन्छ, जुन सन् २०२२ को ४६ प्रतिशतको तुलनामा वृद्धि भएको हो । यस्तो अवस्थाले कार्यशील पूँजीमा उच्च निर्भरता बढाउँदै गरेको देखिन्छ। वित्तीय वर्ष २०२४ मा कम्पनीले ३२६ प्रतिशतको उच्च लाभांश वितरण गरेको छ, जसले नाफा कमाउने क्षमतालाई प्रभावित पारेको छ ।

सर्वोत्तम सिमेन्टले हाल निर्माण उद्योगमा कायम प्रतिस्पर्धासँगै आफ्नो समग्र व्यवसायलाई सन्तुलनमा राख्न चुनौतीको सामना गरिरहेको छ । कम्पनीका प्रमुख व्यवसायिक सूचकहरू कमजोर हुँदै गएपछि अहिलेको वित्तीय सुधारमा कम्पनीले आफ्नो स्थिरता कायम राख्न थप बल लगाउनुपर्ने उल्लेख इक्राको प्रतिवेदनमा रहेको छ ।

सर्बोत्तम सिमेन्ट अक्टोबर २०१० मा प्राइभेट लिमिटेड कम्पनीको रूपमा स्थापना भएको र जुलाई २०१९ मा पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गरिएको हो । यस कम्पनीले क्लिंकर र सिमेन्टको उत्पादन र बिक्रीमा संलग्नता जनाएको छ । प्रारम्भमा लगभग ०.४ मिलियन टन प्रति वर्ष क्षमता भएको यो कारखानाले हाल क्लिंकर र ग्राइन्डिङका लागि लगभग १ मिलियन टन प्रति वर्ष क्षमता हासिल गरेको छ ।

सर्बोत्तमको प्रमुख शेयरधनी सौरभ ग्रुप हो, जुन नेपालका प्रमुख व्यापारिक घरानामध्ये एक हो । कम्पनीको कारखाना नवलपरासी जिल्लाको रामनगर वडा नं. ५ मा अवस्थित छ । सर्बोत्तम मुख्य रूपमा “सर्बोत्तम” ब्राण्ड अन्तर्गत ओपीसी र पीपीसी सिमेन्ट उत्पादन गर्दै आइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*