तिहारको सांस्कृतिक धरोहर देउसी भैलोः मौलिकता हराउँदै, आधुनिकता हाबी
काठमाडौँ । नेपालको तिहार पर्वसँग जोडिएको देउसी भैलोले नेपाली समाजमा साँस्कृतिक धरोहरको रुपमा स्थान बनाएको थियो । विशेष गरी ग्रामीण क्षेत्रका प्रत्येक गाउँ र घरमा खेलिने देउसी भैलो तिहारको समयलाई थप रंगीन बनाउने माध्यम मात्र होइन, भाइबहिनी र दाजुभाइको सम्बन्धलाई अझ प्रगाढ बनाउने अवसर पनि थियो । यसले आपसी माया, सद्भाव र सस्कृतिको जर्गेना गर्दै समाजमा एकता र सहकार्यको भावना बिस्तार गथ्र्यो । तर पछिल्लो समय देउसी भैलोको वास्तविक रुप जसमा सांस्कृतिक मौलिकता र आफ्नोपन झल्किन्थ्यो त्यो हराउँदै गएको देखिन्छ ।
देउसी भैलोको मौलिकता मुख्यतः यसको गीत, लय, नृत्य र परम्परागत भाकामा आधारित थियो । विशेष गरी गाउँले परिवेशमा मादलको तालसँगै देउसी गीत गाइन्थ्यो, जसले तिहारको रौनकता अझै बढाउँथ्यो । गाउँमा युवाहरू, दाजुभाइ र दिदीबहिनीहरू मिलेर विशेष शब्द रचना बनाउँथे र देउसी खेल्थे। “देउसी रे…!“ भन्ने भाका गाउँमा गुञ्जिन्थ्यो, जसले तिहारको पावनता र सामाजिक एकताको भावना बिस्तार गथ्र्यो । सँगै बस्ने, आफ्ना भावना साटासाट गर्ने र परम्पराको जर्गेना गर्ने मौकाका रुपमा देउसी भैलोलाई लिइन्थ्यो ।
पुरानो देउसी भैलोमा गाउँभरिका मानिसको भेला हुन्थ्यो, जहाँ सबैले आफ्ना दुःख, खुसी साटासाट गर्ने गर्थे । गीतका भाकामा परिवार, माया, सद्भाव र आफ्नो माटोको गन्ध मिसिएर आउँथ्यो । देउसीका शब्दहरूमा भाइबहिनी र दाजुभाइबीचको प्रेम र सद्भाव झल्किन्थ्यो, जसले तिहारलाई मात्र नभई सांस्कृतिक पहिचानलाई पनि जीवन्त बनाउँथ्यो । त्यतिबेला देउसी भैलोमा माटोको स्नेह, बाँच्ने लय र पारिवारिक भावना मिसिएको हुन्थ्यो ।
तर, आजभोलि भने देउसी भैलोमा परम्परागत र सांस्कृतिक मौलिकताको कमी देखिन थालेको छ । पहिलेको देउसी जहाँ विशुद्ध मनोरञ्जन, रौनकता र संस्कृति झल्काउने थियो, अहिले त्यो केवल युवाहरूको होहल्लामा सीमित हुन थालेको छ । खासगरी नयाँ पुस्ताका युवाहरूले देउसी भैलोलाई आधुनिक संगीत, डिजे नाच र पप शैलीमा खेल्न थालेका छन् । देउसी खेल्ने नाममा भित्रिएका नयाँ गीतहरू, जो विदेशी संस्कृतिबाट प्रभावित छन्, मौलिकताको स्थानमा देखिन्छ । यसले गर्दा देउसी भैलोमा परम्परागत मादलका ताल र मौलिक देउसी भाकाहरू हराउन थालेका छन् ।
अहिलेको देउसी भैलो मूल रूपमा पैसा संकलन गर्ने माध्यम बनेको छ । देउसी खेल्ने नाममा थुप्रै समूहहरूले व्यापारिक भावना राखेर मात्र पैसा उठाउने उद्देश्यले कार्यक्रम आयोजना गर्ने गरेका छन् । देउसीमा न मादलको रौनक बाँकी छ, न त सामाजिक सद्भाव झल्काउने गीत नै बाँकी छन् । त्यसका सट्टामा डिजेमा बेसुरी गीतहरू गाएर पैसा उठाउने प्रवृत्ति मौलिकता गुमाउँदैछ । यसले गर्दा देउसी भैलोले पहिले जस्तो सन्देश र मनोरञ्जन प्रदान गर्न सकेको छैन, बरु यसले हाम्रो परम्परालाई विस्थापित गरिरहेको छ ।
युवापुस्ताले देउसी भैलोको वास्तविक महत्व बुझ्न नसक्नु पनि यो क्षयीकरणको अर्को कारण हो । स्थानीय तह र समुदायका अभिभावकहरूले देउसी भैलोको मौलिकता र सांस्कृतिक महत्व बुझाउन चासो नदिएपछि नयाँ पुस्ताले यसलाई केवल मनोरञ्जनको रुपमा मात्र लिन थालेका छन् । उनीहरूलाई देउसीका मौलिक शब्द, लय र मादलका तालमा खेलिने परम्परागत देउसीको महत्वबारे जानकारी छैन । तसर्थ, परम्परागत देउसी भैलोलाई पुनःस्थापना गर्न नयाँ पुस्तालाई यसका सांस्कृतिक पक्ष र मूल्यबारे सचेत गराउन आवश्यक छ ।
देउसी भैलोलाई संरक्षण र संवर्द्धन गर्न स्थानीय सरकारले भूमिका खेल्न आवश्यक छ । स्थानीय तहहरूले देउसी भैलोलाई सांस्कृतिक पर्वका रुपमा मान्यता दिन र समुदायमा यसको महत्त्व प्रचार गर्नुपर्ने देखिन्छ । साथै, देउसी भैलोको मौलिकतालाई जोगाउन ग्रामीण क्षेत्रमा मौलिक देउसी भैलो कार्यक्रमको आयोजना, देउसी भाका प्रतियोगिता र परम्परागत सांस्कृतिक प्रस्तुतीकरण गराउन स्थानीय सरकारले विशेष पहल गर्नुपर्ने हुन्छ । यसका लागि स्कुल, कलेज र स्थानीय संघसंस्थाहरूलाई पनि देउसी भैलोको महत्त्व सिकाउन उत्प्रेरित गर्न सकिन्छ ।
देउसी भैलो केवल मनोरञ्जनका लागि मात्र नभएर हाम्रो पहिचान, माया र सद्भावको प्रतिक हो । यसले समाजमा एकताको भावना बिस्तार गर्ने परम्परा स्थापित गरेको थियो । यसलाई पुनःस्थापना गर्न र नयाँ पुस्तालाई यसको महत्त्व बुझाउन स्थानीय तह, अभिभावक र सांस्कृतिक संस्थाहरूले ठोस कदम चाल्नुपर्ने समय आएको छ । देउसी भैलोलाई यथार्थमा सांस्कृतिक सम्पदा बनाइराख्नका लागि अहिलेको पुस्तालाई यसको मौलिकता झल्काउने पक्ष सिकाउन आवश्यक छ । यदि समयमै यो संरक्षण गर्न सकिएन भने देउसी भैलो, जसमा हाम्रो संस्कृति र परम्पराको गहिरो समायोजन छ, केवल इतिहासको पानामा सीमित हुनेछ ।