ग्राहकको रकम अपचलन गरि निर्धन उत्थान लघुवित्तका शाखा प्रमुख फरार, सम्पर्कमा आउने कम्पनीको अल्टिमेटम
काठमाडौँ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो तत्कालीन शाखा प्रमुख सुरेस मणि त्रिपाठीलाई कर्जा तथा बचत रकमको फछ्र्यौट गर्न १५ दिने सार्वजनिक सूचना जारी गरेको छ। रुपन्देहीको कोटहीमाई गाउँपालिका २, मझगांवा निवासी त्रिपाठी संस्थामा २०५२ सालमा सहायक पदमा नियुक्त भएका थिए । उनी संस्थाको कैलाली फुलवारी शाखामा शाखा प्रमुखको जिम्मेवारीमा कार्यरत थिए।
त्रिपाठीले २०७९ मंसिर १२ गतेबाट स्वेच्छिक अवकाश लिएपछि उनले ग्राहकहरूको बचत र कर्जा रकम संस्थामा दाखिला नगरेको आरोपमा संस्थाले पटक–पटक मौखिक तथा लिखित रूपमा सूचना गरेको थियो। तर, हालसम्म पनि कुनै उत्तर प्राप्त नभएपछि संस्थाले त्रिपाठीलाई १५ दिनभित्र सम्पर्कमा आई अनियमित रकम फछ्र्यौट गर्न सूचना जारी गरेको हो।
संस्थाले सूचनामा भनेको छ, ‘यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र फुलवारी शाखा कार्यालय वा केन्द्रीय कार्यालय नक्साल, काठमाण्डौमा सम्पर्क राखी सम्पूर्ण हिसाब बुझाउनुहोस् ।’ समयसीमा भित्र सम्पर्कमा नआएमा नियमानुसार बैंकिङ्ग कसुर अन्तर्गत कारवाही प्रक्रिया अघि बढाइने र आवश्यक परे त्रिपाठीको चल अचल सम्पत्ति समेत जफत गरिने संस्थाले चेतावनी दिएको छ।