माछापुच्छ्रे बचत तथा ऋण सहकारीका ऋणीविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौँ । मोरङ जिल्लाको विराटनगरमा अवस्थित माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्थाका ऋणीविरुद्ध जिल्ला अदालत मोरङले पक्राउ पुर्जी जारी गरेको छ। अदालतमा दायर मुद्दामा आरोपित ऋणीहरू विरुद्ध कानूनी कारवाही अघि बढाइएको हो।
सहकारीको बचत हिनामिना प्रकरणमा सहकारीका अध्यक्ष अमलेश कर्ण पुर्पक्षका लागि कारागार चलान भइसकेका छन्। जिल्ला सरकारी वकिल कार्यालयले सहकारीको रकम दुरुपयोग गरेको आरोपमा कात्तिक १ गते मुद्दा दायर गरेको थियो। अदालतले कात्तिक २ गते अध्यक्ष कर्णलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।
सहकारीको आर्थिक अनियमिततामा संलग्न भई फरार रहेका अन्य प्रतिवादीहरूको पक्राउ पुर्जी समेत अदालतले जारी गरेको जानकारी जिल्ला अदालत मोरङले दिएको छ। यस प्रकरणमा ८८ जना ऋणीसहित कुल १०९ जनाविरुद्ध मुद्दा दायर गरिएको छ। मुद्दामा सहकारीका २१ जना संचालक र पूर्वसंचालक पनि संलग्न छन्।
प्रहरीको अनुसन्धान अनुसार माछापुच्छ्रे सहकारीमा कुल ७ करोड ८४ लाख २६ हजार ३३५ रुपैयाँ हिनामिना भएको पुष्टि भएको छ।