भदौको तुलनामा असोजमा जीवन बीमा कम्पनीको प्रथम बीमाशुल्क ६ प्रतिशतले घट्यो, सन नेपाल र आइएमई लाइफको उच्च वृद्धि

१२ कार्तिक २०८१, सोमबार १४:३६

काठमाडौं । जीवन बीमा कम्पनीहरूको भदौको तुलनामा असोजमा प्रथम बीमाशुल्क आर्जन ६.२१ प्रतिशतले घटेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ वटा जीवन बीमा कम्पनीहरूले असोजमा २ अर्ब ४१ करोड २१ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका छन् । यी नै कम्पनीहरूले भदौ महिनामा २ अर्ब ५७ करोड १८ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका थिए ।

सामान्यतया असोजमा बीमा व्यवसाय अन्य महिनाको तुलनामा कमै मात्रामा हुने गर्छ । असोज महिनामा नेपालमा मुख्य रुपमा दशैंको चाड पर्ने भएकाले धेरैजसो मानिसहरू काम वा व्यवसायलाई समय दिनुभन्दा पनि चाडपर्व मनाउनेतर्फ ध्यान दिने गर्छन् । त्यसैगरी मानिसहरू आ–आफ्नो गाउँघर वा स्थायी ठेगानामा जाने, पारिवारिक भेटघाट गर्ने र धार्मिक तथा सांस्कृतिक कार्यक्रममा सहभागी हुने भएकाले व्यापारिक गतिविधिमा कम देखिने गर्छन् ।

प्रथम बीमा शुल्कको आधारमा
असोज महिनामा नेपाल लाइफले सर्वाधिक ६१ करोड ४६ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको छ । दोस्रोमा नेशनल लाइफले ३६ करोड ५४ लाख रुपैयाँ, तेस्रोमा सूर्यज्योति लाइफले १८ करोड २६ लाख रुपैयाँ र चौथोमा एलआईसी नेपालले १५ करोड ४८ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको छ ।

त्यस्तै हिमालयन लाइफले १४ करोड ९२ लाख रुपैयाँ, एशियन लाइफले १४ करोड ३५ लाख रुपैयाँ, सानिमा लाइफले १३ करोड ८३ लाख रुपैयाँ र रिलायबल नेपाल लाइफले १० करोड ८३ लाख, मेट लाइफले १० करोड ७६ लाख र प्रभु महालक्ष्मी लाइफले १० करोड ७० लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको छ ।

त्यसैगरी सन नेपाल लाइफले १० करोड ४९ लाख, आइएमई लाइफले १० करोड ३९ लाख, सिटिजन लाइफले १० करोड ३५ लाख रुपैयाँ र राष्ट्रिय जीवन बीमा कम्पनीले २ करोड ७८ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको छ।

वृद्धिदरका आधारमा
वृद्धिदरका आधारमा हेर्दा अघिल्लो भदौ महिनाको तुलनामा असोजमा सन नेपाल लाइफको प्रथम बीमाशुल्क आर्जन ८३.६६ प्रतिशतले बढेको छ । भदौमा ५ करोड ७१ लाख रुपैयाँ आर्जन गरेको यस कम्पनीले असोजमा १० करोड ४९ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको छ ।

दोस्रोमा आइएमई लाइफको ६८.२४ प्रतिशतले बढेको छ । भदौमा ७ करोड १७ लाख आर्जन गरेको यस कम्पनीले असोज महिनामा १० करोड ३९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ । त्यसैगरी तेस्रोमा एशियन लाइफको ४१.४६ प्रतिशतले बढेको छ भने चौथोमा प्रभु महालक्ष्मी लाइफको ३९.०७ प्रतिशतले बढेको छ ।

त्यसैगरी सानिमा लाइफले १२.०३ प्रतिशत, रिलायबल नेपाल लाइफको १०.९४ प्रतिशत, नेशनल लाइफको १०.६४ प्रतिशतले बढेको छ ।
बाँकी ७ वटा कम्पनीहरूको भने भदौको तुलनामा असोजमा प्रथम बीमाशुल्क आर्जन घटेको छ । जसमा मेट लाइफको ०.२१ प्रतिशत, नेपाल लाइफको ३.८४ प्रतिशत, एलआईसी नेपालको ४.०९ प्रतिशत, सूर्यज्योति लाइफको ९.६२ प्रतिशत, हिमालयन लाइफको १३.४१ प्रतिशत, सिटिजन लाइफको २९.४३ प्रतिशत र राष्ट्रिय जीवन बीमा कम्पनीको ९०.४९ प्रतिशतले प्रथम बीमाशुल्क आर्जन घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*