सिटिजन्स बैंक, युनिलिभर नेपाल र आँखुखोला जलविद्युतको साधारणसभा भोलि

११ कार्तिक २०८१, आईतवार १४:०९

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, युनिलिभर नेपाल लिमिटेड र आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको वार्षिक साधारणसभा भोलि (कात्तिक १२ गते) बस्दैछ । कम्पनीहरूले विविध प्रस्तावसहित छुट्टाछुट्टै सभा बोलाएका हुन् ।

सिटिजन्स बैंक
सिटिजन्स बैंकको १८ औं वार्षिक साधारणसभा काठमाडौंको डिल्लीबजार, कालिकास्थानस्थित अमृतभोगमा बिहान ९ बजे शुरू हुनेछ ।

सभाले ४ प्रतिशत बोनस शेयर र ०.२१ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । साथै गत आवको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गर्नुका साथै चालु आवका लागि लेखापरीक्षक नियक्ति गरी निजको पारिश्रमिक पनि निर्धारण गरिनेछ ।

त्यस्तै बैंकले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज हुन तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखेमा सो सम्बन्धी सम्पूर्ण कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि पारित गर्नेछ ।

सभा प्रयोजनार्थ बैंकले असोज २९ गते १ दिन बुक क्लोज गरिसकेको छ । सोका आधारमा असोज २३ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले मात्रै सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

युनिलिभर नेपाल
युनिलिभर नेपालको ३१ औँ वार्षिक साधारणसभा काठमाडौंको नयाँबानेश्वरस्थित एभरेष्ट होटलमा दिउँसो साढे ४ बजे शुरू हुनेछ ।

कम्पनीले गत वर्षको नाफाबाट शेयरधनीलाई करसहित प्रतिकित्ता १ हजार ७१४ रुपैयाँ नगद लाभांश घोषणा गरिसकेको छ । कम्पनीले वितरण गर्न लागेको यो हालसम्मकै सबैभन्दा धेरै प्रतिफल हो ।

सभाले वार्षिक र लेखापरीक्षकको प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गर्नेछ। चालु आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले स्वीकृत गर्नेछ ।

सभा प्रयोजनार्थ कम्पनीले असोज २८ गतेदेखि बुक क्लोज गरिसकेको छ । जसअनुसार असोज २३ गतेसम्म कायम शेयरधनीहरू मात्रै सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।

आँखुखोला जलविद्युत
आँखुखोला जलविद्युतको वार्षिक साधारणसभा मैतिदेवीस्थित बैभव पार्टी प्यालेसमा बिहान ११ बजे शुरू हुनेछ ।

कम्पनीले लाभांश तथा हकप्रद शेयर सम्बन्धी कुनै प्रस्ताव समावेश गरेको छैन । सभाले गत आवको वित्तीय विवरणहरू पारित गरी चालु आवको लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेछ ।

सभा प्रयोजनार्थ कम्पनीले कात्तिक ४ गते बुक क्लोज गरिसकेको छ । सोका आधारमा कात्तिक १ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरू मात्रै सभामा भाग लिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*