काठमाडौंमा आजदेखि एनआरएनएको ग्लोबल सम्मेलन

११ कार्तिक २०८१, आईतवार १०:२७

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ‘ग्लोबल’ सम्मेलन आजदेखि काठमाडौंमा हुँदैछ । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गर्ने कार्यक्रम छ ।

रुपान्तरण र एकता ः श्रम, लगानी र नागरिकताको निरन्तरता’ नारा राखेर आयोजित कार्यक्रममा स्वदेश तथा विदेशमा रहेका ५ सयबढी प्रतिनिधिहरु सहभागी हुने र ७ वटा प्लेनरी सत्र रहने एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्ले जनाएको छ । सम्मेलनमा सहभागी हुन विभिन्न देशबाट प्रतिनिधि काठमाडौं आइसकेका महासचिव गौरीराज जोशीले जानकारी दिए ।

कार्यक्रमको पहिलो दिन नेपालमा आर्थिक रुपान्तरणका लागि पूर्वाधार निर्माण, गैरआवासीय नेपाली नागरिकता, मताधिकार र गोर्खा, नेपाली मूलका विदेशी नागरिक, जलवायु परिवर्तनले महिला तथा बालबालिकामा पार्ने प्रभाव, समृद्ध नेपालका लागि विज्ञान, ज्ञान र प्रविधि हस्तान्तरणसम्बन्धी विषयमा छलफल हुनेछ ।

दोस्रो दिन राष्ट्र निर्माणका लागि प्रवासी युवाहरुको सशक्तीकरण, सुरक्षित, व्यवस्थित र सम्मानजनक वैदेशिक रोजगारीको सुनिश्चितता एवं सामाजिक सुरक्षा तथा नेपाल पर्यटन प्रवर्द्धन नीति निर्माण, अपेक्षा चुनौती र एनआरएनएको भूमिकालगायत सत्रहरु रहनेछन् ।

आपसमा रहेको मतभिन्नता र मतभेदलाई संवादले नै चिरेर अघि बढ्नुको विकल्प नभएको उल्लेख गर्दै महासचिव जोशीले गैरआवासीय नेपाली दिवसको कार्यक्रममा एकताकै लागि छलफल गर्न तथा आ–आफ्नो विचार राखी योगदान गर्न सम्पूर्ण गैरआवासीय नेपाली अभियन्तामा अनुरोध गरेका छन् ।

एकता महाधिवेशन नगरी सम्मेलन आयोजना
एनआरएनए सम्वद्ध बद्री केसी समूहले आयोजना गरेको भनेर ग्लोबल सम्मेलन विवादिन बनाइएको छ । विवादित कार्यक्रमको उदघाटन प्रधानमन्त्रीबाट गराउन लागिएको भन्दै आलोचना समेत भएको छ ।

परराष्ट्रमन्त्री आरजु राणा देउवाले कार्तिक १ मा एकता महाधिवेशन गर्न भनी एनआरएनएलाई पत्राचार गर्न लगाएकी थिइन् । तर, त्यसलाई बेवास्ता गर्दैै केसी समूहले ग्लोबल सम्मेलन आयोजना गरेको बताइँदै छ ।

यसैबीच, पूर्व अध्यक्ष उपेन्द्र महतोले अदालतले नै एकताको महाधिवेशन गर्न भनेकाले सबैलाई सजिलो हुने र सबैको फेस सेभको पनि अवसर हुने बताए । १०औं महाधिवेशनबाट तीन जना अध्यक्ष चुनिए पनि अदालतबाट मान्यउता नपाएकामध्ये कुल आचार्यले पनि सर्वोच्चको पत्र सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् भने विनोद कुँवर र रविना थावाले पनि एकचा महाधिवेशन सबैको हितमा रहेको बताएका छन् । तर, केसी समूहले त्यसो नगरी एकैपल्ट ग्लोबल सम्मेलन आयोजना गरेको भन्दै आलोचना भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*