नेपाल प्रहरी र यातायात व्यवसायीसँग बीमा सम्बन्धी अन्तरक्रिया

११ कार्तिक २०८१, आईतवार १०:०७

काठमाडौं । नेपाल प्रहरी र यातायात व्यवसायीसँग बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम शनिवार कपिलवस्तुको गोरुसिङ्गेमा सम्पन्न भएको छ । होटल पौवामा भएको यस कार्यक्रमको अध्यक्षता नेपाल बीमा प्राधिकरणका कार्यालय प्रमुख पूर्ण बहादुर थापाले गरे भने प्रमुख अतिथिको भूमिकामा कपिलवस्तु जिल्ला प्रहरी कार्यालयका प्रमुख निरन्जन दत्त भट्ट रहेका थिए । कार्यक्रममा बीमा प्राधिकरणका सहायक निर्देशक निर्मल खनालले सञ्चालन गरेका थिए ।

अन्तरक्रियामा कपिलवस्तु जिल्लाका नेपाल प्रहरी, ट्राफिक प्रहरी, यातायात व्यवस्था कार्यालयका प्रमुख, यातायात व्यवसायी, र निर्जीवन बीमा कम्पनीका शाखा तथा प्रदेश प्रमुखहरूको सहभागिता थियो ।

कार्यक्रममा विभिन्न जिज्ञासा र सुझावहरू उठाइएका थिए । सहभागीहरूले सवारी साधनको दुर्घटनाको क्रममा प्रहरी प्रतिवेदन लिने प्रक्रियाको समस्या, दुर्घटनामा चिकित्सा खर्चको रकम कम भएको गुनासो, ग्रामीण क्षेत्रमा दुर्घटना भएकाहरूको उपचारमा देखिएका समस्याहरू, र बीमा दावा भुक्तानीसम्बन्धी विषयहरूमा प्रश्न उठाएका थिए । साथै, बीमालेखको म्याद र नवीकरणका क्रममा स्पष्ट व्यवस्थाहरूको अभावमा सुधार आवश्यक भएको विषयमा समेत छलफल भएको थियो ।

कपिलवस्तु यातायात व्यवस्था कार्यालयका प्रमुखले बीमालेखको समयावधि सुनिश्चित गर्न र सवारी साधनको बीमालेख सक्रिय छ कि छैन भनेर जाँच्नका लागि छुट्टै पोर्टल बनाउनु पर्ने आवश्यकता औँल्याए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका निप्सका अध्यक्ष विश्वदिपक नेपालले बीमा क्षेत्रको सुधारतर्फ भइरहेको प्रगतिलाई औँल्याउँदै प्रहरी, यातायात व्यवस्था कार्यालय, व्यवसायी, बीमा कम्पनी र प्राधिकरणको सहकार्यबाट बीमा सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन सकिने बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख निरन्जन दत्त भट्टले यस प्रकारका अन्तरक्रियाले प्रहरी सेवामा सुधार ल्याउन सहयोग पुग्ने र प्रहरी प्रतिवेदनको नमूना ढाँचा उपलब्ध गराएमा कार्य अझै सहज हुने बताए ।

नेपाल बीमा प्राधिकरणका प्रमुख पूर्ण बहादुर थापाले कार्यक्रमको समापन गर्दै उठेका जिज्ञासाहरूको जवाफ दिएका थिए । उनले बीमा क्षेत्रका समस्याहरूलाई विस्तारै समाधान गर्दै बीमितलाई प्रभावकारी सेवा दिन सबैको सहकार्य आवश्यक रहेको बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*