सिमेन्ट निर्यातमा धक्काः ४२.२७ प्रतिशतले घट्यो भारत बिक्री, उच्च माग हुँदा पनि किन बढेन व्यापार ?

९ कार्तिक २०८१, शुक्रबार १३:३२

काठमाडौँ । मुलुकको व्यापार घाटा कम गर्न योगदान गरिरहेको सिमेन्ट निर्यातमा यस आर्थिक वर्षको सुरुवातदेखि नै गिरावट आएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१/०८२ को तीन महिनामा सिमेन्ट र क्लिंकर (अर्धप्रशोधित सिमेन्ट) निर्यातमा ठूलो गिरावट आएको हो ।

गत वर्षको तीन महिना अवधिको तुलनामा चालु वर्षको तीन महिनामा सिमेन्ट निर्यात ४२.२७ प्रतिशतले घटेको छ । गत वर्षको भदौ मसान्तसम्म १ लाख ५५ हजार २ सय ४८ मेट्रिक टन क्लिकर र ६ लाख ९ हजार ४ सय ४८ मेट्रिक टन सिमेन्ट गरी ८५ करोड ३० लाख रुपैयाँ बराबरको सिमेन्ट तथा क्लिकर भारत निर्यात भएको थियो । चालु आवको भदौ मसान्तसम्म भने १८ हजार ३ सय ८ मेट्रिक टन क्लिंकर र २ लाख २३ हजार १ सय ८८ मेट्रिक टन सिमेन्ट गरेर कुल ४९ करोड २४ लाख रुपैयाँको मात्रै सिमेन्ट र क्लिंकर भारत निर्यात भएको छ ।  यो घट्दो निर्यातले सिमेन्ट उद्योगमा चुनौतिहरू देखा परेको छ ।

भारतमा सिमेन्टको उच्च माग हुँदाहुँदै पनि नेपाली सिमेन्टको आयातमा विभिन्न अवरोध खडा गरिँदै आएको छ। नेपालबाट भारततर्फ निर्यातको मात्रा बढ्न थालेपछि त्यहाँका सरकारी निकायले गुणस्तर, प्रमाणपत्र र अन्य प्राविधिक आधारमा अवरोध खडा गर्दै निर्यातलाई रोक्न प्रयास गरेको नेपाली सिमेन्ट उत्पादकहरू बताउँछन्। यसपटक पनि माथिल्लो तहको निर्देशनको बहानामा नेपालबाट सिमेन्ट आयातमा अवरोध गरिएको उनीहरूको भनाइ छ। यसले नेपालको सिमेन्ट उद्योगलाई नोक्सान मात्रै नभएर भविष्यका लागि व्यापारिक चुनौती समेत थपेको छ।

भारतमा सिमेन्टको समयमा नै गुणस्तर प्रमाणपत्र नविकरण हुन नसक्दा निर्यात घटेको एक ब्यवसायीले बीमा पोष्टलाई बताए। भने, ‘नेपालको व्यापार घाटा निरन्तर बढ्दो क्रममा छ । तर, सिमेन्ट निर्यातले थोरै भएपनि राहत मिलि रहेको थियो । चालु आवदेखि भने नयाँ गुणस्तर प्रमाणपत्र दिन र पुरानो प्रमाणपत्र नवीकरण गर्न भारतले ढिलाइ गर्दा निर्यातमा असर परेको छ । यो प्रमाणपत्रको अवधि २ वर्षदेखि २ वर्षसम्म हुने गर्छ, त्यसपछि नवीकरण गर्नुपर्छ ।’

सरकारले सिमेन्ट उद्योगलाई प्राथमिकता दिन नसकेको उनको भनाइ रहेको छ । ‘सिमेन्ट उद्योग फष्टाउँदा नेपाल सरकारलाई ठुलो राहत मिल्छ । तर, सरकारले भारतसँग कहिल्यै सिमेन्टको बारे समन्वय त परैको कुरा छलफल समेत गर्दैन । जसले हामी मारमा पर्दै आएका छौं’ उनले भने ।

नेपाल विद्युत प्राधिकरणसँगको बारम्बारको विवादले सिमेन्ट उत्पादनमा ठूलो असर पारेको छ। विद्युत महसुल तिर्ने विषयमा असहमति हुँदा प्राधिकरणले पटक–पटक उद्योगहरूको बिजुली आपूर्ति रोकिदिँदा उत्पादन अवरुद्ध हुने गरेको छ। उत्पादनमा आएको यस किसिमको समस्या र भारतको आयात अवरोधले गर्दा नेपाली सिमेन्ट निर्यातमा गिरावट आएको व्यवसायीहरू बताउँछन्।

हाल नेपालबाट सिमेन्ट उत्पादन गर्ने प्रमुख कम्पनीहरू – घोराही, बालाजी, तानसेन, अर्घाखाँची र सिजी सिमेन्ट – भारततर्फ निर्यात हुँदै आएका छन् । भारतीय बजारमा नेपाली सिमेन्टको माग बढाउन सिमेन्ट व्यवसायीहरूले विभिन्न किसिमका विज्ञापनहरू पनि गरिरहेका छन् । विशेष गरी अर्घाखाँची, सर्वोत्तम र पाल्पा सिमेन्टले भित्ते विज्ञापनमार्फत आफ्नो बजार विस्तार गर्न खोजिरहेका छन् ।

नेपालमा सिमेन्ट उत्पादनका लागि आवश्यक पर्ने प्रमुख कच्चा पदार्थ, चुनढुङ्गा, प्रशस्त मात्रामा पाइन्छ । यद्यपि, सिमेन्ट उद्योगले ठूलो सम्भावना हुँदाहुँदै पनि अपेक्षा गरेजस्तो प्रगति गर्न सकेको छैन । यसको मुख्य कारण सरकारी नीतिगत समर्थनको कमी रहेको व्यवसायीहरूको भनाइ छ

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*