रविलाई पक्राउ गर्न रुपन्देही अदालतबाट समेत अनुमति

८ कार्तिक २०८१, बिहीबार २१:३६

काठमाडौं । सहकारी ठगीको अनुसन्धानका क्रममा पक्राउ परी पोखरा प्रहरीको हिरासतमा रहेका पूर्व गृहमन्त्री रवि लामिछानेसहित गोर्खा मिडिया नेटवर्क प्रालिका अध्यक्ष गितेन्द्रबाबु (जिबी) राई, उपाध्यक्ष छविलाल बञ्जाडे जोशीलाई पक्राउ गरी संगठित अपराधमा अनुसन्धान गर्न रुपन्देही जिल्ला अदालतले समेत अनुमति दिएको छ ।

अदालतले राई, जोशी र लामिछानेसहित अन्य १२ जनालाई पक्राउ अनुमति दिएको बताइएको छ । जिल्ला अदालतका न्यायाधीश श्यामप्रसाद श्रेष्ठको इजलासले उनीहरुलाई पक्राउ गरेर अनुसन्धान गर्ने अनुमति दिएको हो । पोखरा प्रहरी हिरासतमा रहेका छवि र रविलाई थप अनुसन्धानका लागि कास्की जिल्ला अदालतले बिहीबार नै ७ दिनको म्याद दिएको छ ।

छविलाई यसअघि नै रुपन्देही ल्याएर १३ घण्टा बयान गराएर पोखरा पठाइएको छ । प्रहरीका अनुसार रविलाई शुक्रबार रुपन्देही लैजाने तयारी भइरहेको छ । रविलाई शुक्रबार रुपन्देही लान तयारी भएपछि प्रहरी र सरकारी वकिलको टोलीले बिहीबारदेखि नै बुटवलको सुप्रिम बचत तथा ऋण बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन भएको सम्बन्धमा अनुसन्धान र बयानका लागि तयारी गरेको बताइएको छ ।

बुटवलको सुप्रिम सहकारीबाट जोशीका नामबाट २ करोड ५० लाख रुपैयाँ र रविका नामबाट २ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको देखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*