बीमा प्राधिकरण कर्मचारी बिनियमावली संशोधन प्रस्ताव पारित, कार्यकारी निर्देशक र उपकार्यकारी निर्देशक नियुक्ती एकै पटक गरिने

८ कार्तिक २०८१, बिहीबार १८:५०

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आज बसेको सञ्चालक समितिको बैठकले प्राधिकरणको कर्मचारी बिनियमावली संशोधन गर्ने प्रस्ताव पारित गरेको छ । यसअघि पारित भएको ओ एण्ड एम सर्भे अनुसारको एक जना कार्यकारी निर्देशक र दुई जना उपकार्यकारी निर्देशक व्यवस्था गरिएको कर्मचारी बिनियमावली संशोधन प्रस्ताव स्वीकृत गरिएको हो ।

नयाँ प्रस्ताव अनुसार प्राधिकरणको संरचनामा एक जना कार्यकारी निर्देशक, दुई जना उप कार्यकारी निर्देशक र छ जना निर्देशक हुनेछन् । कार्यकारी निर्देशक र उप कार्यकारी निर्देशक दुवै पद बिशिष्ट श्रेणीको पद हो । यसअघि कार्यकारी निर्देशक बाहिरबाट नियुक्ती गर्ने भन्ने झूठो हल्ला चलेको थियो । आज सञ्चालक समितिले प्राधिकरणकै तीन जना निर्देशक सबैलाई बढुवा गरी कार्यकारी निर्देशक र उप कार्यकारी निर्देशक बनाउने निर्णय गरेको हो ।

आज पास गरिएको प्रस्ताव अनुसार यस पटकका लागि तीन जना निर्देशकलाई बिशिष्ट श्रेणीमा बढुवा गरिनेछ । तीन जना मध्येबाट कार्यसम्पादन मूल्याङ्कन, जेष्ठता आदिका आधारमा सबैभन्दा उत्कृष्टलाई कार्यकारी निर्देशक बनाइनेछ भने त्यसपछि दुई जनालाई उप–कार्यकारी निर्देशक बनाइनेछ ।

त्यस्तै, रिक्त छ वटा निर्देशक पदमा उप निर्देशकहरुको बढुवा हुनेछ । नयाँ व्यवस्था अनुसार सबै कर्मचारीहरुलाई समान रुपमा बढुवाको अवसर हुने गरी व्यवस्था गरिएको छ ।

सञ्चालक समितिबाट पास गरी अर्थ मन्त्रालयमा पेश गरिएको प्रस्ताव अनुसार बिशिष्ट श्रेणीमा जम्मा छ वर्षसम्म मात्रै कार्यरत रहन पाइनेछ । नयाँ प्रवेश गरेका र तलका कर्मचारीहरुको बढुवा रोक्न नदिन कार्यकारी निर्देशक र उप कार्यकारी निर्देशक दुई वटै बिशिष्ट पद भएकोले सो दुई पदमा जम्मा छ वर्ष मात्रै पदावधी तोकिएको छ ।

यसअघि उप कार्यकारी निर्देशक र कार्यकारी निर्देशक पदमा लामो समय रोकिएर जाम हुनसक्ने आशंकालाई कर्मचारी बिनियमावलीमा सम्बोधन गर्दै कसिलो नीति राखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*