टाटाका एस इभी फ्ल्याटबेड र सिएलभी विद्युतीय गाडीहरु अब इटहरीमा, के छ अफर ?

६ कार्तिक २०८१, मंगलवार १२:१६

काठमाडौँ । टाटा मोटर्सका अधिकारिक वितरक सिप्रदी ट्रेडिङले कोशी प्रदेशको इटहरीमा विशेष कार्यक्रमकाबीच टाटाका एस इभी फ्ल्याटबेड र सिएलभी विद्युतीय गाडीहरू सार्वजनिक गरेको छ। दशैं–तिहार विशेष अफरसहित सुलभ मूल्यमा सार्वजनिक गरिएका यी गाडीहरू ग्राहकको लागि खुसियालीको सारथीका रूपमा ल्याइएको हो।

सिप्रदी ट्रेडिङले टाटाका यी दुई नयाँ मोडेललाई फरक–फरक मूल्यमा सार्वजनिक गरेको छ। एस इभी फ्ल्याटबेड गाडीको मूल्य २१ लाख ९९ हजार रुपैयाँ रहेको छ भने सिएलभी विद्युतीय गाडीको मूल्य २२ लाख ७९ हजार रुपैयाँ तोकिएको छ।

ग्राहकहरूको लागि विशेष अफरको रूपमा, पहिलो हप्ताभित्र बुकिङ गर्ने ग्राहकहरूले ५० हजार रुपैयाँसम्मको नगद छुट प्राप्त गर्न सक्नेछन्। यसका साथै, गाडी खरिद गर्दा एक वर्षका लागि निःशुल्क बीमा, तीन पटकसम्म निःशुल्क सर्भिसिङ, एक वर्षको सवारी कर, आकर्षक एक्सचेञ्ज बोनस, र गाडी नामसारी खर्च कम्पनीले व्यहोर्ने सुविधाहरू पनि उपलब्ध गराइने भएको छ।

इटहरीमा आयोजित उक्त कार्यक्रममा कोशी प्रदेशका नेपाल मदिरा व्यवसायी महासंघका सचिव लाल बहादुर कार्की, उद्योग वाणिज्य संघ इटहरीका महासचिव पिताम्बर पोख्रेल, नेपाल वितरक महासंघ कोशी प्रदेश महासचिव राजेश खनाल, र सिप्रदीका च्यानल पार्टनरहरू लगायत यातायात क्षेत्रका विशिष्ट व्यक्तिहरू सहभागी भएका थिए।

कार्यक्रममा सिप्रदी ट्रेडिङका सहायक महाप्रबन्धक दिवश बाबु सुबेदीले टाटाका विद्युतीय गाडीहरू सञ्चालनमा अत्यन्तै किफायती, सहज र सुरक्षाका दृष्टिकोणले उत्कृष्ट रहेको बताए। उनका अनुसार, विद्युतीय गाडीहरूले इन्धन खर्च घटाउनुका साथै वातावरणमैत्री र दिगो यातायातको लागि सघाउ पुर्याउनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*